शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा छ वर्षअघि स्थानान्तरण गरेर ल्याइएका कृष्णसारको सङ्ख्या ६० पुगेको छ।
वासस्थान र आहारमा सुधार गरिएपछि कृष्णसारको सङ्ख्यामा वृद्धि भएको हो। निकुञ्जको पूर्वी सेक्टर अर्जुनीका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीका अनुसार कृष्णसारका वयस्क भाले १८, पोथी १६, अर्ध वयस्क भाले आठ, पोथी दुई र एक हप्तादेखि पाँच महिनासम्मका पाठापाठीको सङ्ख्या १६ छ।
गत वर्षको यसै अवधिमा कृष्णसारको सङ्ख्या यहाँ ४५ मात्रै रहेको थियो, जसमा भाले १७, पोथी १३ र लिङ्ग नखुलेका बच्चाको सङ्ख्या १५ थियो। विसं २०६९ असोजमा नेपालगन्जबाट आठ भाले र १४ पोथी तथा ललितपुरको जाउलाखेल चिडियाखानाबाट तीन भाले, दुई पोथी र एक बच्चा कृष्णसार शुक्लाफाँटाको हिरापुरमा स्थानान्तरण गरिएको थियो।
कृष्णसारलाई पौष्टिक तत्वको कमी हुन नदिन दैनिक पाँच किलोका दरले भटमास, चना, चोकर र औषधि उपलब्ध गराइँदै आएको छ। अतिरिक्त खानाको व्यवस्था गरेका कारण कृष्णसारको सङ्ख्या बढेको अधिकृत चौधरीले बताए।
कृष्णसारलाई पानीको व्यवस्था गर्न संरक्षण क्षेत्रमै चार पोखरी र दुई छहारी घर निर्माण गरिएका छन्। संरक्षित क्षेत्रभित्र कृष्णसारलाई खानको कमी हुन नदिन मकै छरेर बोट तयार गरी खानका लागि छाडिने व्यवस्था गरिएको छ। निकुञ्जको सम्भाव्यता अध्ययनपछि यहाँ कृष्णसारलाई स्थानान्तरण गरिएको थियो। कृष्णसारलाई बाह्य आक्रमणबाट बचाउनका लागि २५ हेक्टर क्षेत्रफलमा ग्याबिन बक्स र त्यसको पछाडि विद्युतीय तारबार जडान गरिएको छ।
चितुवा, बाघ र अन्य जनावरले कृष्णसारलाई आक्रमण गर्न नसकून् भनेर विद्युतीय तारबार जडान गरिएको आरक्षका सहायक संरक्षण अधिकृत चौधरीले बताए। उनका अनुसार तारबारमा सौर्य विद्युत् छाडिने गरिएकाले बाह्य जनावर त्यस क्षेत्रमा जान डराउने गर्छन्।
पर्यटकलाई आवागमनमा सहजता प्रदान गर्न पूर्वपश्चिम राजमार्गको उत्तरतर्फ चार किलोमिटर सडकमा आरक्ष कार्यालयले ग्राभेल तथा कृष्णसार हेर्नका लागि मचानसमेत व्यवस्था गरिएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत दुर्लभ स्तनधारी कृष्णसार सन् १९६० को दशकमा पश्चिमका केही जिल्लामा पाइने गरेको र वासस्थानको विनाश र चोरीसिकारले गर्दा केही समययता लोप हुने सङ्घारमा पुगेको छ।
नेपालमा कृष्णसार सबैभन्दा बढी झन्डै ३०० जति बर्दिया खैरापुरमा रहेको बताइएको छ। एन्टिलोप प्रजातिको कृष्णसार हाल नेपालगन्ज, काठमाडौँको मृगस्थली र शुक्लाफाँटाको हिरापुर फाँटामा संरक्षित छ। घाँसका फाँटमा चर्न रुचाउने कृष्णसारको भाले कालो र पोथी खैरो रङका हुन्छन्। यसले छ/छ महिनामा बच्चा जन्माउने गर्छ। वर्षमा अन्य जनावरजस्तो कृष्णसारको सिङ झर्दैन। वयस्क नभएसम्म भाले र पोथीको रङ खैरो हुन्छ।
आन्तरिक पर्यटकको घुइँचोः
शुक्लाफाँटाको हिरापुर फाँटामा संरक्षित कृष्णसारको अवलोकन गर्नका लागि आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ।
निकुञ्जको पूर्वी सेक्टरका सहायक संरक्षण अधिकृत चौधरीका अनुसार चालु आवको हालसम्म आठ सय बढी पर्यटकले कृष्णसार अवलोकन गरेका छन् । यसै अवधिमा विभिन्न विद्यालयका एक हजार बढी विद्यार्थीले समेत कृष्णसारको अवलोकन गरेका छन्। करिब २५ विदेशी पर्यटक मात्रै कृष्णसार हेर्न पुगेको अधिकृत चौधरीको भनाइ छ। रासस