पर्वतका मगर समुदायमा परम्परादेखि नै विभिन्न शुभकार्यमा देखाइने मारुनी नाचलाई अहिलेको पुस्ताले पनि जीवितै राख्दै आएको छ।
समुदायका विभिन्न शुभकार्य न्वारान, व्रतबन्ध, विवाहलगायत शुभकार्यमा देवीदेवताको आराधना गर्दै यो नाच नचाउने गरिन्छ । समुदायको बसोबास रहेका बनौँ, क्याङ, शालिजा, लेखफाँट, देउरालीलगायत गाविसका साथै म्याग्दीका विभिन्न गाउँमा यो नाच प्रचलित छ । राम, सरस्वतीको आराधना गरेर गीत गाउने तथा मारुनी नचाउने गरिन्छ ।
पुरुषलाई महिलाको भेषमा सजाएर पौराणिक कथामा आधारित गीतका साथ मादलको तालमा नाचिने मारुनी नाच लोपोन्मुख अवस्थामा छ । मगर समुदायमा यो नाच परम्परागत समयदेखि नै नचाइदै आएको र पछिल्लो पुस्ताले यसलाई जीवितै राख्न समय समयमा नचाउने गरिएको छ । मारुनी नाचमा दुई मारुनी, दुईदेखि तीन मादले, एक पुरसिङ्गे र छदेखि १० जनासम्म गायक हुन्छन् । गायकमा एक गुरु हुन्छन्, जसलाई मारुनी नाचका बारेमा सबै जानकारी हुन्छ । मारुनी नाचको मुख्य पात्र पुरुषलाई सिङ्गारपटार गरी महिलाको कपडा एवम् गहना लगाइदिइन्छ । मारुनी मादलेको अघि र पछि घुमेर नाच्छन् । नाचको पूरा अवधिसम्म एउटै मारुनीले मात्र नाच्छन् ।
पुरसिङ्गेले महिलाको कपडा लगाएको हुँदैन । यदि मारुनी नाचमा तीन मादले अथवा एक मात्र मारुनी छन् भने त्यहाँ पुरसिङ्गेलाई एक मादलेसँग नाच्ने जिम्मा दिइन्छ । पुरसिङ्गे एकपछि अर्को गर्दै नाच्न सक्छ । मादले कम्मरमा मादल भिरेर मारुनीसँगै नाच्छ । मारुनी नाच नेपालको परम्परागत नाच हो । पुरुषलाई महिलाको कपडा पहिराएर मारुनी बनाएर मादलको तालमा पुराना पौराणिक कथामा आधारित गीत गाएर नाचिने यो नाच नेपालका मगर, गुरुङ, तामाङ, लिम्बू जातिको मुख्य संस्कृति पनि हो ।
पछिल्लो समयमा युवा पुस्ता यसको संरक्षणमा लागेका छन् । संरक्षणसँगै गाउँमा पुगेका अतिथिलाई मारुनी नाचबाटै स्वागत गर्ने चलनसमेत बढ्दै गएको छ । गुरुङ समुदायमा पनि व्याप्त मारुनी नाच संरक्षणका लागि आफूहरु लागिपरेको र विभिन्न स्थानबाट नयाँ पुस्तालाई तालिम दिनका लागि सहयोग सङ्कलन गर्ने कार्य सुरु गरिएको आर्थरका कमल गुरुङले बताए। रासस