चितवनको मुग्लिन–नारायणगढ सडकअन्तर्गत घुमाउनेमा गत चैत २१ गते सुख्खा चट्टाने पहिरो खस्यो। गन्तव्यमा हिँडिरहेकामध्ये पहिरोमा पुरिएर बा १० प ४८४४ नं को मोटरसाइकल चालक लमजुङ सुन्दरबजारका ४५ वर्षीय रेशमराज रानाको मृत्यु भयो। छोरा सन्दिप घाइते भए ।
सँगै आउँदै गरेको ना ४ ख ५४१९ नं को ट्याङ्करका सहयोगी चालक भारतको बेतियाका २५ वर्षीय विनयकुमार कोइरीको मृत्यु भयो। चालक पर्सा लक्ष्मनुवा १८ का ३६ वर्षीय बनु पटेल घाइते बन ।
घटनामा रा १ ख ७७९ नम्बरको मिनि ट्रक, बा १६ च ३९०७ नम्बरको कार र ना ६ ख ६६६४ नम्बरको ट्रक परेको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालय चितवनको पहलमा मुग्लिन नारायणगढको–३४ किलोमिटर सडकमा जोखिम पहिचान गरेर आवश्यक सावधानी अपनाउन थालिएको उक्त सडक निर्माण आयोजनाका इन्जिनियर शिव खनाल बताउँछन् । यो बीचमा दर्जनौं पटक पहिरो खस्यो । नियमितजसो ढुङ्गा झरिरहेको देखिने गरेकाले जोखिममा यात्रा गर्नु बाध्यता भएको चितवनको सौराहाका पर्यटन व्यवसायी प्रकाश भट्टराई बताउँछन्।
यही असार ४ गते पनि उक्त सडकको कालीखोलामै पहिरो खसेर आठ घन्टा सवारी अवरुद्ध हुँदा गाडी खुलाउन दिनभर नै लाग्यो । यात्रुले पहिरो खस्ने त्रासमै दिन बिताए ।
त्यसको तेस्रो दिन असार ७ गते बिहान झरेको पहिरोले पनि यात्रुलाई दिनभर प्रभावित बनायो । उक्त पहिरो खस्दा पर्यटन व्यवसायी भट्टराई काठमाडौँबाट चितवन आउँदै थिए।
‘मुग्लिन लागेपछि आङ सिरिङ्ग हुन्छ,’ भट्टराईले भने, – ‘यसरी जीवनकै बाजी राखेर यात्रा कहिलेसम्म गर्ने ?’ काठमाडौंबाट हिँडेका सूर्य अधिकारी पनि त्यही पहिरोका कारण दिनभर सडक बस्नुपर्यो । मुख्यगरी चारकिलो र कालीखोलाको पहिरोले यात्रुलाई प्रभावित पार्दै आएको छ । जीवनकै बाजी थापेर हिँड्नुपर्ने अवस्था मुग्लिन सडकमा भएको अधिकारी बताउँछन्।
घुमाउनेपछिको ठूलो दुर्घटना आजको हो । गएराति ८ बजेदेखि नै सडक गस्ती र सानातिनो पहिरो पन्छाएर मुग्लिनतर्फ फकिँदै गरेको प्रहरीको भ्यान र एउटा ट्रक राति १ बजे कालीखोलाको पहिरोले बगायो ।
दुई प्रहरीको ज्यान गयो भने अन्य दुई प्रहरी बेपत्ता छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्त पहिरोको जोखिमसँगै सडक विस्तारको क्रममा रहेकाले ग्राभेल सडकका कारण पनि यात्रुबाहक बस नसोचेको दुर्घटनामा पर्दै आएको बताउँछन्।
अघिल्लो वर्ष रौतहटको एउटा बस दुर्घटना हुँदा २३ जना यात्रु घटनास्थलमै मृत्यु भएको र दुईवटा ट्रक समेत नदीमा खसेर बेपत्ता भएको सोही क्षेत्र रहेको उनको भनाइ छ ।
वर्षा सुरु भएकाले जोखिम बढ्दोःवर्षा सुरु हुन लागेकाले यात्रु डराई डराई यात्रा गर्न बाध्य छन् । कालीखोला सबैभन्दा ठूलो जोखिम क्षेत्र भए पनि यहाँका दर्जनौँ स्थान पहिरोको जोखिममा छन् ।
भित्तो काटिएकाले सुख्खा समयमा पनि पहिरो खस्छ । पानी परेपछि गलेर झन् जोखिम बढाउँछ । सडक आयोजनाका इन्जिनियर शिव खनाल अहिलेसम्म उक्त सडक करिब ५१ प्रतिशत मात्रै काम सम्पन्न भएको बताउँछन् । यसरी हेर्दा अन्तिम मिति पुसमा निर्माण सम्पन्न गर्न सकिँदैन।
यहाँको ३४ किलोमिटर सडकमा ६ वटा निर्माण कम्पनीले तीन खण्ड बनाएर काम गरिरहेको छ । गएको वैशाखबाटै सक्नुपर्ने काम आधा पनि नहुँदा आगामी पुससम्मलाई म्याद थपिए पनि सो समयसम्म सकिने अवस्था देखिँदैन । त्यसैले यात्रुले अर्को वर्ष पनि सास्ती पाउने देखिन्छ ।
नयाँ ठाउँमा खस्यो यसपटकको पहिरोःयसपटकको प्रहरी गाडी परेको पहिरो भने नयाँ ठाउँमा खसेको छ । यसअघि कहिल्यै नखसेको ठाउँ कालीखोला र चेपाङ डाँडाको बीचमा खसेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनाल बताउँछन् । बुधबार राति परेको भीषण वर्षाले गलाएकाले पहिरो खसेको उनको भनाइ छ । यो स्थिर बस्न नसक्ने माटो भएको क्षेत्र हो ।
गाडी र दुई प्रहरी गाडी हराएकाले माटोमा पुरिएको पनि हुनसक्ने आशङ्कामा सडकको पहिरोको माटोलाई गाडीमा लादेर अन्यत्रै फाल्नुपर्ने अवस्था छ । त्यसैले पहिरो पन्छाउन समय लाग्ने ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्त बताउँछन्। अर्को चार किलोमा पनि पहिरो खसेकाले अहिले पन्छाउने क्रम जारी छ । रासस