शुक्रबार पाकिस्तानको दक्षिण-पश्चिमी सहर क्वेटामा भएको एक कार बिस्फोटमा परी ११ जनाको मृत्यु भएको भने २० घाइते भएका छन्।
बलुचिस्तान प्रान्तको प्रान्तीय राजधानी क्वेटा सरहमा रहेको प्रहरी प्रमुख कार्यालय अगाडि सो बिस्फोट भएको जनाइएको छ। यस आक्रमणमा मारिनेमध्ये चार प्रहरी अधिकारी छन्।
बलुचिस्तान प्रान्तमा पृथकतावादी र इस्लामिक आतङ्ककारी समूहको बलियो प्रभाव पाइन्छ । विस्फोट भएको इलाकाबाट ११ व्यक्तिको शव ल्याइएको नागरिक अस्पतालका प्रमुख फारेद अहमदले समाचारमाध्यमलाई जानकारी दिएका छन्
घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक भएकाले मृतकको सङ्ख्या बढ्ने अनुमान छ।
यस विस्फोटको जिम्मेवारी कसैले लिएको छैन। प्रहरीले विस्फोट गराउने व्यक्तिको खोजी गरिरहेको जनाएको छ।
त्यस्तै, उता पश्चिमी इराकमा शुक्रबारै भएको एक आत्मघाती आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको छ। सो आक्रमणमा आठ सर्वसधारण र एक सैनिकको मृत्यु भएको हो।
आक्रमणमा अन्य ११ व्यक्ति घाइते भएका छन्। पश्चिमी अन्बार प्रान्तको अल बागदादको छिमेकमा पर्ने सहरमा आक्रमण गर्ने चार आत्मघाती आक्रमणकारी मध्येका एकले सो आक्रमण गरेको बताइएको छ। सैनिक कारबाहीको क्रममा तीन आत्मघाती आक्रमणकारी मारिएका र एक भाग्न सफल भएका थिए।
चौथो आत्मघाती आक्रमणकारीले सर्वसधारण नागरिक र सैनिक समूहमा बसेका व्यक्तिलाई लक्षितगरी सो आक्रमण गरेको बताइएको छ ।
सरकार समर्थक बलले अन्बार प्रान्तका केही सहर पुनः कब्जामा लिएको भएता पनि सिरियाको सीमामा पर्ने क्षेत्रहरुमा जिहादीहरुको नियन्त्रण अझै केही स्थानमा कायम छ।