लमजुङका विभिन्न विद्यालयमा ‘स्कुल बैंक’ कार्यक्रम सुरु भएको छ। विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गर्न तथा बचत गर्ने बानीको विकास गराउन ‘स्कुल बैंक’ कार्यक्रम सुरु गरिएको हो।
फिनलिट नामक संस्थाले नविल बैंकको सहकार्यमा सुरु गरिएको सो कार्यक्रमअन्तर्गत पहिलो चरणमा बैकको उपयोगिता, बचतबाट हुने फाइदा र निक्षेपका बारेमा विद्यार्थीलाई अभिमुखीकरण गरी खुत्रुके वितरण गरिएको संस्थाका निर्देशक प्रकाश कोइरालाले बताए।
उनका अनुसार, खुत्रुकेमा जम्मा भएको रकमलाई प्रत्येक महिना नविल बैंकमा जम्मा गर्ने सम्झौता भएको छ। यो कार्यक्रमबाट विद्यार्थीमात्र नभई अभिभावकलाई पनि वित्तीय साक्षरता प्राप्त हुने र फजुल खर्च नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिइएको कोइरालाले बताए। रासस