बर्सेनी नदीले भूक्षय गर्दै आएको कञ्चनपुरका नौ स्थानमा जैविक र ढुङ्गा तारजालीको तटबन्ध निर्माणको कार्य गरिएको छ।
मर्सिकोर नेपालको सहयोगमा एमरेड परियोजनाअन्तर्गत नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले चालु आवमा स्थानीय समुदायको सहकार्यमा जैविक र ढुङ्गा तारजालीको तटबन्ध निर्माणको कार्य गरेको हो । ३६ लाख रुपैयाँको लागतमा ९०० मिटर जैविक र १३१ मिटर ढुङ्गा तारजालीको तटबन्ध निर्माणको कार्य गरिएको छ । जसमध्ये परियोजनाअन्तर्गत दुवाहामा तीन लाख ५८ हजार २२०, विचपट्टीमा तीन लाख ५८ हजार २२०, पर्सियामा २० लाख १८, तिलकिमा तीन लाख ५८ हजार २२०, पिपलाडीमा चार लाख १८ हजार २२० र कृष्णपुरको कटानमा दुई लाख १८ रुपैयाँको लागतमा जैविक तटबन्ध निर्माण गरिएको परियोजनका अधिकृत महेश घिमिरेले बताए । जसबाट प्रत्यक्ष रुपमा चार हजार बढी परिवार लाभान्वित भएका छन् ।
यसैगरी, दुवाहामा ४८ मिटर लम्बाइको नौ लाख २४ हजार ६२६, सिकलपट्टीमा ४८ मिटर लम्बाइको पाँच लाख ८५ हजार ९४५ र सत्यालफाँटामा ३५ मिटर लम्बाइको एक लाख ९६ हजार ७१५ रुपैयाँको लागतमा ढुङ्गा तारजालीको तटबन्ध निर्माण गरिएको अधिकृत घिमिरेले बताए।
दोदा, बनहरा र सनवोरा नदीमा निर्माण गरिएका जैविक तटबन्ध र ढुङ्गा तारजालीको तटबन्ध निर्माणका लागि परियोजनाले २० लाख २३ हजार ५६९, समुदायको सात लाख ९० हजार ७०४, स्थानीय तहको दुई लाख ६० हजार १३० र अन्य सहयोगी संस्थाको पाँच लाख २५ हजार ७९९ रुपैयाँ सहयोग छ । जैविक र ढुङ्गा तारजालीको तटबन्ध निर्माण भएपछि बर्सेनी जग्गा कटानको समस्याबाट पीडित रहँदै आएका बासिन्दाको जग्गाको सुरक्षा भएको छ । रासस