म्याग्दीका मगर समुदायले ४०० वर्षअघि गुमेको ‘ढुट’ भाषा सिक्न थालेका छन् । बेनीमा नेपाल मगर सङ्घले प्रशिक्षण कक्षा सञ्चालन गरेर मगर भाषा सिकाउन थालेको छ । सदरमुकाम बेनीमा बसोबास गर्दै आएका मगर समुदाय कक्षामा सहभागी भएर ढुट भाषा सिक्न थालेका हुन् । सांसद नवराज शर्माको सिफारिसमा निर्वाचन क्षेत्र विकास कार्यक्रमको एक लाख ५० हजार सहयोगमा असार ५ गतेदेखि १५ दिने भाषा कक्षा सञ्चालन गरिएको हो ।
मगर समुदायलाई आफ्नो मौलिक भाषा सिकाएर लोप हुन नदिने उद्धेश्यले कक्षा सञ्चालन गरिएको सङ्घका सचिव लोकेश पुनमगरले जानकारी दिए।
मल्लकालमा तत्कालीन राज्य सञ्चालकले फरकफरक भाषा बोल्दा गोपनीयता भङ्ग हुने, सुरक्षामा असर र सूचना आदानप्रदान गर्न असहज भएको भन्दै मगर भाषा बोल्न प्रतिबन्ध लगाएका थिए । १८ मगरात क्षेत्रअन्तर्गत पर्ने म्याग्दी र बागलुङमा सन १६०० मा आफ्नो भाषा बोल्ने मगर समुदायलाई दण्ड, जरिवाना गर्न थालिएपछि बोलीचालीमा प्रयोग गर्न छाडेका थिए ।
त्यसयता मगर भाषा बोलीचालीको प्रचलनमा छैन । आफ्ना पुर्खाले बोलेको, लोप भइसकेको भाषा सिक्न र बुझ्न पाउँदा खुसी लागेको प्रशिक्षणमा सहभागी रघुगङ्गा गाउँपालिका–४ दग्नामका धनीलाल गर्बुजाले बताए। नयाँ भएकाले सिक्नलाई अप्ठ्यारो लागेको गर्बुजाले अनुभव सुनाए। युवा, युवती र प्रौढले भाषा सिक्न चासो देखाएका छन र ८० जनाले भाषा सिकिरहेका छन्।
दैनिक जीवनयापनमा प्रयोग हुने शब्द सिकाउने गरिएको छ। यसअघि बरङ्जा, राम्चे, सिङ्गा तातोपानी, कुहँ, हिस्तानका मगर बस्तीमा पनि भाषा सिकाउन कक्षा सञ्चालन गरिएको थियो। मौलिक भाषाको पाठ्यक्रम लागू भएका विद्यालयका शिक्षकलाई भाषासम्बन्धी आधारभूत तालिम दिइएको थियो ।
सङ्घका सचिव पुनले विसं २०६५ मा पाठ्यक्रममा आधारित मगर भाषाको ‘कानुङ ऐजु काठ’ र ‘कानुङ ऐजु कर’ नामक पुस्तक प्रकाशन गरेका थिए। विसं २०६८ को जनगणना अनुसार एक लाख १३ हजार जनसंख्या रहेको म्याग्दीमा ४३ प्रतिशत मगर समुदायको बसोबास छ। म्याग्दीको बस्तीको नामाकरण र बोलीचालीमा मगर भाषाको लवज आउने गरेको बताइन्छ । रासस