तीन पल्टका विम्बल्डन टेनिस विजेता जर्मनीका बोरिस बेकर टाट पल्टिएका छन्। उनी कंगाल भएको लन्डनको एक अदालतले फैसला सुनाएको छ।
४९ वर्षीय पूर्व टेनिस स्टारले एउटा फर्मका लागि ऋण लिएका थिए। तर, उनीसँग ऋण चुक्ता गर्ने रकम अभाव भएपछि अदालतले ऋण तिर्न नसक्ने व्यक्तिको सूचीमा राखेको छ। बेकरका वकिलले अदालतले फैसला सुनाउनुअघि केही समयको माग राखेका थिए। तर, मुद्धा लामो समयदेखि चलिरहेको हुनाले थप मौका दिन नमिल्ने भन्दै अदालतले फैसला सुनाएको हो।
अदालतको फैसला आउँदा बेकर उपस्थित थिएनन्। बेकर हाल बिबिसीलगायत अन्य मिडियामा समिक्षकको भूमिका निर्वाह गर्ने गर्छन्। उनी प्रशिक्षणमा पनि व्यस्त छन्। रजिस्टार क्रिस्टिन डेरेटले आफूले सधै सेन्टर कोर्टमा हेर्दै आइरहेको आफ्नो स्टार खेलाडीलाई ऋण तिर्न नसक्ने व्यक्तिको सूचीमा राख्नु पर्दा पछुतो लागेको बताइन्। ‘म अहिले पनि उनलाई सेन्टर कोर्टमा खेलिरहेको सम्झन्छु। साय मेरो उमेरका सबैले सम्झन्छन होलान,’ उनले भनिन्।
बेकरले १९८५, १९८६ र १९८९ मा गरि ३ पल्ट विम्बल्डन जितेका थिए। यस्तै अस्ट्रेलियन ओपन १९९१ र १९९६ र युएस ओपन १९८९ मा जितेका थिए। उनले विश्व नम्बर एक नोभाक जोकोभिकलाई २०१३ देखि तीन वर्ष प्रशिक्षण दिएका थिए। बेकरले यो फैसलाले आफू चकित र निरास भएको प्रतिक्रिया दिएका छन्।