मंगलबार साँझ ६ बजेतिर ललितपुरको सातदोबाटो चोकनजिकै सेल्स बेरीअगाडि युवतीहरुबीच 'ग्याङ फाइट' भयो। अाठ जना युवतीको एक समूहले तीन जना युवतीको अर्को समूहमाथि छुरा लिएर आक्रमण गरेको स्थानीयले अचम्म मान्दै हेरे। ती आठ जनाले अर्को समूहकी एक जनालाई छुरा हानेर घाइते नै बनाए।
तीमध्ये पाँच जना बस चढेर कोटेश्वरतर्फ भाग्दा सातदोबाटो चोकमा खटेका प्रहरीले बस नियन्त्रणमा लिएर उनीहरुलाई पक्राउ गर्यो। बाँकी युवती कता हराए प्रहरीले थाहा पाएन।
यसबीच घाइते अवस्थामा सडकमै लडिरहेकी युवतीलाई प्रहरीले धापाखेलस्थित सुमेरु अस्पताल लग्यो।
छुरा लागेर घाइते भएकी उनी काभ्रे घर भई ललितपुरको हात्तिवन बस्दै आएकी १७ वर्षे कोपिला गिरी हुन्। अस्पतालका अनुसार उनको शरीरमा पाँच ठाउँमा छुरा प्रहार भएका छन्। टाउको, गर्दन, पाखुरा, तिघ्रा र कम्मरमा चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा नरहे पनि खतरामुक्त रहेको अस्पतालले जनाएको छ।
सातदोबाटो वृत्तका डिएसपी रामेश्वर यादवका अनुसार गिरीमाथि आक्रमण गर्ने मुख्य युवती आस्था राई हुन्। उनी आफ्ना दुई जना साथीहरुसहित फरार छिन्।
ग्याङफाइट क्रममा पक्राउ पर्नेमा ओखलढुंगा रगनी घर भई काठमाडौं शान्तिनगर बस्ने १७ वर्षीया सलिना राई सुनुवार, नुवाकोट घर भई भक्तपुर गठ्ठाघर बस्ने १६ वर्षकी रिना मगर, सुनसरी घर भई बल्खु बस्ने २७ वर्षकी सुमन राई, कामना राई र ओखलढुंगा घर भई बौद्ध बस्ने वर्ष १६ की सजना सुनुवार छन्।
घटनाको अनुसन्धानमा खटिएको प्रहरीका अनुसार सलिना एक्लैले कोपिलामाथि पाँचपटक छुरा हानेकी थिइन्।
यसरी बीच सडकमै युवतीहरुबीच भएको ग्याङफाइटको कारण के त?
कोपिला र आस्था राई लगायत युवतीको फेसबुकमार्फत चिनजान भएको प्रहरीले जनाएको छ। उनीहरुको 'साइको क्विन' भन्ने फेसबुक समूह छ। त्यसमा कुराकानी हुँदा एकअर्कालाई अश्लील शब्द प्रयोग गरेको र त्यही निहुँमा झगडा भएको सातदोबाटोका प्रहरी निरीक्षक श्यामल सुब्बाले बताए।
'हामी यो ग्याङ फाइट हुनुमा अरु नै कारण पनि छ कि भनेर अनुसन्धान गरिरहेका छौं,' सुब्बाले सेतोपाटीसँग भने।
पक्राउ पर्ने अधिकांश युवती राजधानीका विभिन्न रेष्टुरेन्टमा वेटरको काम गर्छन्। कोही कक्षा ११ र १२ मा पढ्दैछन्। उनीहरुले पूर्वयोजना नै बनाएर सातदोबाटोमा आक्रमण गर्ने भनी ठाउँ तय गरेको डिएसपी यादवले बताए। 'यसअघि उनीहरु भक्तपुरको सीतापोखरी र काभ्रेको पनौतीमा समेत ग्याङफाइट गर्न गएको पाइएको छ,' उनले भने।
भक्तपुरको सीतापोखरीमा झगडा गर्ने बेला प्रहरी भ्यान आएपछि उनीहरु डराएर भागेका थिए। पनौतीमा भने स्थानीयको भीडभाडका कारण झगडा गर्न सकेका थिएनन्।
भक्तपुर र काभ्रेमा असफल भएपछि आस्था र कोपिलाले मंगलबार दिउँसो फोन गरेर साँझ 'ग्याङफाइट' गर्ने निधो गरेको प्रहरीले जनाएको छ।
यसैअनुसार साँझ सातदोबाटो चोकमा आस्था र कोपिलाको भेट भयो। कोपिलाले आफ्ना साथीहरु हात्तिवनमा रहेको र त्यहीँ गएर फाइट गर्ने भनिन्। उनीहरु हात्तिवन जाँदै गर्दा बीच बाटोमै भनाभन भएको र सेल्स बेरी अगाडि पुगेपछि कोपिलालाई निर्घात कुटपिट गर्दै छुरा हानिएको प्रहरीले बतायो। प्रहरीले पक्राउ परेकाहरुमाथि ज्यान मार्ने उद्योगमाथि मुद्दा चलाउने जनाएको छ।
महानगरीय अपराध महाशाखाका एसएसपी दिनेश अमात्यले कलेज र अन्य स्थानमा युवतीहरुबीच झगडा भए पनि अहिलेसम्म छुरा प्रहार नभएको बताए।