भारतीय क्रिकेट टिमको प्रशिक्षक पदबाट राजीनामा दिएका अनिल कुम्बलेले पहिलो पल्ट मुख खोलेका छन्। उनले राजीनामा दिने प्रमुख कारण कप्तान विराट कोहली भएको स्पष्ट पारेका छन्।
मंगलबार राती ट्विटरमार्फत आफूले राजीनामा गर्ने कारण खुलासा गर्दै कुम्बलेले लेखेका छन्, ‘मलाई एक दिन अगाडि सोमबार भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) बाट थाहा भयो, भारतीय टिम कप्तानलाई मेरो शैली र मुख्य प्रशिक्षकको भूमिका मन परेको रहेनछ। यो थाहा पाएर म छक्क परे। किनभने मैले सधै कप्तानको भूमिकाको सम्मान गरेँ। बिसिसीआईले म र कप्तानबीचको असम्झदारी हटाउन थुप्रै प्रयास गर्यो। तर, यसले सार्थकता नपाएपछि मैले पद छोड्नु नै उत्तम विकल्प माने।’
४६ वर्षीय कुम्बलेलाई गत वर्षको जुनमा भारतीय टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको थियो। यस अवधिमा उनले १७ टेस्टमध्ये भारतलाई १२ मा जित दिलाएका थिए। उनले यो उपलब्धिको श्रेय कप्तान, पुरै टिम र प्रशिक्षण टिमलाई दिएका छन्। उनले आफूलाई सहयोग गर्ने क्रिकेट सल्लाहाकार समिति (सिएसी) लाई पनि धन्यवाद दिएका छन्। यस कमिटीमा सचिन तेन्दुलरकर र सौरभ गागुली लगायत थिए। उनीहरुले कुम्बलेलाई प्रशिक्षणमा राख्न सल्लाह दिएका थिए।