इटाली र एसी मिलानका चर्चित फुटबलर पाब्लो माल्दिनी अब टेनिस खेलाडीको रुपमा आफ्नो भाग्योदय गर्दैछन्।
इटालीका लागि १ सय २६ खेल खेलेका ४८ वर्षीय माल्दिनी व्यवसायिक टेनिस प्रतियोगिताका लागि छनोट भएका छन्। उनी अब एटिपी च्यालेन्जर टुरमा देखा पर्नेछन्।
उनको डबल्समा सहयोगी स्टेफानो लान्डोनियो हुनेछन्। ४६ वर्षीय लान्डोनियो कुनै बेला टेनिसको ९ सय ७५ वरियतामा थिए। माल्दिनीले २००९ मा फुटबलबाट सन्यास लिएपछि लान्डोनियोले नै उनलाई टेनिस सिकाउँदै आइरहेका थिए।
यो युगल जोडीले एटिपीको च्यालेन्जर टुरको रुपमा रहेको आस्परिया टेनिस कपमा भाग लिँदैछन्। प्रतियोगिता २९ जुनदेखि सुरु हुनेछ।
माल्दिनीले फुटबल खेल्ने क्रममा ३१ वर्ष एसी मिलानमा बिताएका थिए। उनी मिलानमा हुँदा क्लबले ७ पल्ट लिग उपाधि र ५ पल्ट च्याम्पियन्स लिग जितेको थियो। आस्परिया टेनिस कप सुरु हुँदा उनी ४९ वर्षमा टेक्ने छन्।