हाँसीखुसी नेपाल पुर्याएर फर्कने बेलामा श्रीमतीको पासपोर्ट लगायतका सबै कागजपत्र पोको पारेर आफू मात्रै बेल्जियम फर्केर बेखबर भए श्रीमतीलाई कस्तो होला? पारिवारिक हिंसा खप्दै नेपाल पुर्याइएकी कविता सिटौला बेल्जियमका केही निडर पत्रकार र समाजसेवीको सहयोगमा फर्कन सफल भएकी छन्।
दुई महिनाअघि श्रीमान् कमल सिटौलाले श्रीमतीका सबै कागजपत्र लिएर आफू मात्रै नेपालबाट बेल्जियम फर्केका थिए। पटक पटक आफ्नो कागजपत्र फिर्ता माग्दा पनि नदिएपछि कविताले बेल्जियमको गैर आवासीय नेपाली संघलगायत विभिन्न संघसंस्थामा आफूलाई न्याय दिन निवेदन दिएकी थिइन्। तर, कसैले सहयोग गर्नु त कता हो कता उल्टै परिवारको मामिलामा बोल्न नमिल्ने जस्ता तर्क दिएर उनको मनोबल गिराउने काम भएको थियो।
पत्रकार निलम घिमिरेले फेसबुकमा उनलाई न्याय दिलाउन पहल गर्ने कुरा गर्दा बेल्जियमका संघ संस्थाका प्रमुखहरु उनीमाथि जाइलागेका थिए। तर निडर र हक्की पत्रकार निलम घिमिरे, सन्तोष न्यौपाने, शेरबहादुर छन्त्याल, नेपाल प्रगतिशील मोर्चा युरोपका अध्यक्ष विष्णु भुजेल, राउटेहरुको स्वास्थ्य सेवामा लागिपरेका समाजसेवी लोक दाहाल, जाजरकोटमै पुगेर राउटेको उपचार गरेका डाक्टर लुकले उनलाई बेल्जियम फर्काउन कागजी प्रकृयादेखि सबै काममा सहयोग गरेका थिए ।
न्याय दिन पहल गर्ने सबै जना एयरपोर्ट पुगेर कवितालाई लिएर आएका थिए। सेतोपाटीसँग कुरा गर्दै कविताले भनिन्, ‘म न्यायको लागि अन्तिम समयसम्म लड्छु। छोड्नै थियो भने भनेर छोडेको भए हुन्थ्यो, मलाई बिचल्लीमा पारेर छोड्नुभयो। भोलिका दिनमा अरुलाई पनि यस्तो नहोस् भन्ने शिक्षा मिलोस्। मेरो हकको निम्ति सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु।’
दूतावासले राख्न मानेन
नयाँ पासपोर्ट बनाएर भिसा लगाइसकेपछि बेल्जियम आइन् कविता। आइसकेपछि कहाँ बस्ने समस्या हुने नै भयो। सहयोगीहरू सबै स-परिवार दुःखसुख बसेका छन्। अप्ठेरो परेको बेला नेपाली नागरिकलाई सघाउन नेपाल सरकारको करले चलेको बेल्जियम दूतावासमा पत्रकार नीलम घिमिरेले सहयोगको लागि फोन गरिन्। तर, सबै प्रकृयामा सहयोग गर्दै आएका राजदूत लोक बहादुर थापाले कवितालाई राख्न नमिल्ने बताए।
‘न्यायको निम्ति आइपुगेकी नेपाली चेलीलाई दूतावासले शरण दिएन। बडो दुःख लागेको छ’, पत्रकार घिमिरेले भनिन् ।
कविताका श्रीमान् नेपाली कांग्रेस समर्थक नेपाली जनसम्पर्क समिति बेल्जियमका उपाध्यक्ष थिए। समितिले उनलाई निलम्बन गरिसकेको छ। झण्डै तीन दर्जन जति सामाजिक र राजनीतिक संस्था रहेको बेल्जियममा आपतविपतको बेला चासो दिने कोही देखिएनन्।
‘एउटी नारीमाथिको अत्याचार खादा ओडेर नथाक्ने स्वयम् महिला र नेताको अघिपछि घुमेर ठूला कुरा गर्नेहरुले हेरिरहेँ। उल्टै फेसबुकमा किन लेखेको भनेर सहकर्मीलाई धम्क्याए। अब हेरौँ, के गर्छन्?’, एयरपोर्टमा आक्रोशित हुँदै पत्रकार सन्तोष न्यौपानेले भने ।