आफूमाथि कर छलीको आरोप लागेपछि निरास देखिएका रियल म्याड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई क्लबले फकाउने भएको छ।
रियल म्याड्रिडका नवनियुक्त अध्यक्ष फ्लोरेन्टिनो पेरेजले कन्फिडरेशन कप सञ्चालन भइरहेको हुनाले रोनाल्डोसँग उनको भविष्यको विषयलाई लिएर तत्कालै वार्ता नहुने स्पष्ट पारेका छन्। तर, उनले प्रतियोगिता समाप्त भएपछि रोनाल्डोसँग उनको भविष्यलाई लिएर वार्ता गर्ने बताएका छन्।
कर छलीको आरोप लागेपछि ३२ वर्षीय रोनाल्डो स्पेन छाड्ने मनस्थितिमा छन्। उनी हाल रुसमा आयोजना भइरहेको कन्फिडरेशन कपमा सहभागी पोर्चुगिज टोलीमा समावेश छन्। सन् २०१६ को नोभेम्बरमा मात्र उनले रियल म्याड्रिडसँग ५ वर्षको अनुबन्ध नवीकरण गरेका थिए। तर, कल छलीको मुद्धा बाहिरिएलगत्तै उनी म्यानचेस्टर युनाइटेड फर्किने हल्ला चलिरहेकाे छ।
‘यतिबेला म एउटै कुरा मात्र भन्न सक्छु, उनी रियल म्याड्रिडका खेलाडी हुन,’ सोमबार पुनः अर्को कार्यकालका लागि निर्वाचित भएका पेरेजले भने। रोनाल्डोमाथि करौडौ कर छली गरेको आरोप स्पेनिस अधिकारीले लगाएका छन्। तर, रोनाल्डोले आफूले गलत काम नगरेको भन्दै आफूमाथि लागेको आरोपको खण्डन गरिसकेका छन्।
‘निश्चय नै केही त भएको छ। केही कुराले उनलाई असर पारिरहेको छ, उनको विश्वसनीयतामा,’ पेरेजले स्पेनिस रेडियो अाेन्डा सेरोलाई प्रतिक्रिया दिए, ‘म निश्चिन्त छु, उनले हामीलाई सबै कुरा बताउने छन। यसपछि हामी हेर्नेछौं।’
उनले पोर्चुगिज टिम हाल कन्फिडरेशन कपमा सहभागी भएको हुनाले आफूले बिथोल्न नचाहेको बताए। रोनाल्डोको अर्को क्लब पेरिस सेन्ट जर्मनीमा आवद्ध हुने हल्लाको विषयमा पेरेजले भने, ‘रोनाल्डो पैसाका लागि प्रेरित भएका होइनन्। उनी विश्वको उत्कृष्ट खेलाडी बनिरहन चाहन्छन्। उनी रियल छोड्न चाहन्छन भने त्यो पैसाका लागि होइन।’
उनले रोनाल्डोका लागि मात्र होइन, स्ट्राइकर अल्भारो माराटा र मिडफिल्डर जेम्स रोड्रिगेजका लागि क्लबलाई आकर्षक प्रस्ताव आइरहेकाे बताए। तर, उनले आउँदो सिजन पनि यी खेलाडी आफ्नो क्लबबाट खेलेको हेर्न आफूले चाहेको स्पष्ट पारे।
कर छलीको आरोप लागेपछि निरास रोनाल्डोले आफ्ना नजिकका साथीहरुसँग स्पेन छोड्न चाहेको बताएका थिए। उनीमाथि २०११ र २०१४ को बीचमा १ करोड ६० लाख अमेरिकी डलर बराबरको कर छली गरेको आरोप लागेको छ।