सात नयाँ खेलाडी लिएर मैदानमा उत्रिँएको विश्व विजेता जर्मनीले कन्फिडरेशन कपअन्तर्गत सोमबार राती भएको खेलमा एसिया कपको च्याम्पियन देश अस्ट्रेलियालाई ३–२ गोलले पराजित गरेको छ।
गोलरक्षक मानुअल नेउर, आर्सनलका मिडफिल्डर मेसुट ओजिल, डिफेन्डर माट्स हुमेल्स र फरवार्ड थोमस मुलरजस्ता अनुभवी खेलाडीलाई टिममा समावेश नगरेको जर्मनीले समूह ‘बी’ अन्तर्गत पहिलो खेलमा अस्ट्रेलियालाई पराजित गरेको हो। जर्मनीले आउँदो खेल चिलीसँग विहिबार कजानमा खेल्ने छ। चिलीले गत अाइतबार अफ्रिकी विजेता क्यामरुनलाई २–० ले पराजित गरेको थियो। अस्ट्रेलियाले सेन्ट पिटरवर्गमा विहिबार नै खेल्ने छ।
सोमबार राती ३–१ ले पछाडि परेको कङ्गारुका लागि टोमी जुरिकले दोस्रो गोल गरेका थिए, जब हातमा लागेर गोल भएको शंका गरिएको बल भिडियो रिभ्यूमा गाेल देखियाे।
खेल सुरु भएको ५ मिनेटमै लार्स स्टिन्डलले जर्मनीलाई अग्रता दिलाएका थिए। तर, ४१ मिनेटमा सेल्टिकका टोमी रोजिकले खेललाई बराबरीमा ल्याएका थिए। जर्मनीले पहिलो हाफको खेल सकिन १ मिनेट बाँकी रहँदा जलियान ड्राक्सलेरको पेनाल्टी गोलको सहयोगले पुनः अग्रता बनायो। जर्मनीले लियोन गोरेजकालाई लडाएबापत पेनाल्टीको अवसर पाएको थियो।
गोरेजकाले नै दोस्रो हाफको खेल सुरु भएको तेस्रो मिनेटपछि जर्मनीका लागि तेस्रो गोल गरे। ५६ मिनेटमा जुरिकको गोललाई भिडियो सहायक रेफ्रिले गोल दिएपछि अस्ट्रेलियाले गोलअन्तर छोट्याउन सफल भएको थियो।