ब्राजिलियन मिडिफिल्डर ओस्कारका कारण चीनको प्रिमियर लिग फुटबलमा दुई क्लबका खेलाडीबीच मैदानमै भिडन्त भएको छ।
आइतबार राति संघाई सिपिङ र ग्वान्झाउ आर एन्ड एफ क्लबबीच चिनियाँ प्रिमियर लिगमा यो घटना भएको हो। इङ्लिस प्रिमियर लिग च्याम्पियन चेल्सीका पूर्व मिडफिल्डर ओस्कार यसै वर्षको जनवरीमा संघाई क्लबमा आवद्ध भएका थिए।
युझिसान रंगशालामा भएको यी दुई क्लबबीचको हाइ प्रोफाइल खेलमा ब्राजिलका अर्का स्ट्राइकर हल्कको गोलको सहयोगले संघाईले पहिलो हाफमा खेललाई १–१ गोलको बराबरीमा ल्याएको थियो।
https://www.youtube.com/watch?v=LpFN5iwxFhk
आक्रामक रुपमा प्रस्तुत भएको संघाईको तर्फबाट बल अगाडि बढाउने क्रममा ओस्कारले ग्वान्झाउ आर एन्ड एफका दुई खेलाडीलाई बलले सेकाएपछि मैदानमै दुवै टोलीको भिडन्त सुरु भएको थियो। यो घटनामा उग्ररुपमा प्रस्तुत भएका ग्वान्झाउका खेलाडीले ओस्कारलाई धकलेर मैदानमा लडाएका थिए। यसपछि दुवै टिमका खेलाडी एकआपसमा भिडेका थिए। बेञ्चमा बसेका खेलाडी पनि मैदानभित्र प्रवेश गरेपछि स्थिति सम्हाल्न रेफ्रिलाई धौ–धौ परेको थियो। पछि रेफ्रिले दुवै टिमका १–१ खेलाडीलाई रातो कार्ड देखाए।
दोस्रो हाफमा १०–१० खेलाडीमा सिमित भएर दुवै टोली मैदानमा उत्रिएको थियो। खेल अन्त्यमा बराबरीमा टुंगियो। संघाई हाल चिनियाँ सुपर लिगको दोस्रो स्थानमा छ। आर एन्ड एफभन्दा यो क्लब ९ अंकले माथि छ। आर एन्ड एफ २१ अंकका साथ पाँचौ स्थानमा छ।
अर्जेन्टिनी स्ट्राइकर कार्लोस टेभेज अनुबन्धित ग्वान्झाउ इभरग्रेन्ड १३ खेलमा ३४ अंकका साथ शीर्ष स्थानमा छ।