भारतलाई च्याम्पियन्स ट्रफीको फाइनलमा १ सय ८० रनको लज्जास्पद पराजयको स्वाद चखाएका पाकिस्तानी कप्तान सरफराज अहमदले छिट्टै अन्तर्राष्ट्रिय क्रिकेट आफ्नो देशमा सुरु भएको हेर्न चाहेको बताएका छन्।
उनले आइतबार कट्टर प्रतिद्वन्दी भारतलाई पराजित गरेपछि च्याम्पियन्स ट्रफी उपाधि आफनो टिम, देश र प्रशिक्षकलगायत सम्पूर्ण टिम स्टाफलाई सम्पर्ण गरे। ‘मलाई लाग्छ, यो मेरोलागि मात्र होइन, टिम र देश सबैका लागि ठूलो उपलब्धि हो। यो सफलतालाई आज र भोलीका लागि मात्र होइन, लामो समयसम्म सबैले याद गर्नेछन्,’ सरफराजले भने। दक्षिण अफ्रिकी प्रशिक्षक मिकी आर्थरको नेतृत्वमा रहेको पाकिस्तानले प्रतियोगितामा उत्कृष्ट पुनरागमन गरेको थियो।
पाकिस्तान प्रतियोगितामा समावेश हुँदा आइसिसी वरियतामा यो टिम सबैभन्दा पुछार, आठौं स्थानमा थियो। तर, १५ दिनपछि टोली विजेता बन्यो। ‘यो जितले पाकिस्तानको क्रिकेटलाई जीवन्त राख्न मद्धत गर्नेछ। यसले क्रिकेट खेल्ने राष्ट्रलाई पाकिस्तान आउँन प्रेरित गर्नेछ,’ उनले भने।
सरफराजले जितको श्रेय युवा खेलाडीहरुको मेहनतलाई दिए। ‘म विशेष श्रेय युवा खेलाडीलाई दिन्छु। उनीहरुले छिट्टै सिके र खुब मेहनत गरे।’ उनले आफ्नो टिम युवा भएपनि युवा खेलाडीहरुले परिपक्वता देखाएकोमा खुसी व्यक्त गरे।
‘सुपरस्टारहरु खेल्दा उनीहरुलाई निर्देशन दिन सजिलो हुन्छ। किनभने उनीहरुलाई धेरै सम्झाइरहनु पर्दैन। उनीहरुलाई पहिले नै थाहा हुन्छ, ठूलो दबाबलाई कसरी झेल्ने भनेर। तर, यी युवा क्रिकेटरहरु असमान्य र धेरै प्रतिबद्ध थिए,’ सरफराजले आफ्नो खेलाडीको तारिफ गर्दै भने।
उनले फखर जमान, सदाब खान र हसन अली जस्ता युवा खेलाडीको प्रदर्शनको खुलेर प्रसंसा गरे। ‘उनीहरु आइसिसीको प्रतियोगिता पहिलो पल्ट खेलिरहेका थिए। हामीले जुन किसिमको प्रदर्शन गर्यो। कसैले पत्याएका थिएनन्, युवा टोली भएको हुनाले,’ सरफराजले भने। उनले भने, ‘जति पनि व्यक्तिलाई हामीले भेट्यौं, उनीहरुले भारतको ब्याटिङ निकै बलियो भएको र उनीहरुलाई सम्हाल्न गाह्रो पर्ने बताउँथे। तर, हाम्रो ब्याटिङ र बलिङ आइतबार उनीहरुभन्दा निकै माथि थियो,’ सरफराजले भने।