लेप्ची राजवंशीको साविक पाँचगाछी ८ हाल शिवसताक्षी ५ मा ४० विगाहा जग्गा थियो । शरणामतिको मदरगाछ तिर मोडिएको कन्काई नदीले धार परिवर्तन गरेपछि उनी अहिले भूमिहिन भएकी छन्। ४० विगाहा जग्गामा अहिले उनको ४ चप्परी पनि माटो छैन। मदरगाछ भेलामुनिबाट करिब ३ किलो मिटरको पूर्वी दुरीमा पर्छ। यो दुरी सवै माईखोलाको बाढीले खाएको हो।
२०५२ सालदेखि कन्काई नदीले मदरगाछको धार परिवर्तन गरेर राजवंशीको जग्गा कटान गरेको थियो। ‘वर्षेनी बिघाका बिघा धान खेत बगर बनिन्थ्यो,’ उनले भनिन्, ‘२०६२ सालको बाढीले त निमिट्यान्नै पार्यो।’
उनको बास अहिले सरकारी स्वामित्तको कन्काई नहरको डिलमा छ। घाम पानी पनि नछेकिने खालको उनको छाप्रामा ५ जनाको परिवार १२ वर्षदेखि कष्टका साथ बसिरहेका छन्।
सुरूमा नेपाल रेडक्रस सोसाईटी झापाले त्रिपाल र भाडा वर्तनको जिन्सी राहत दिएको थियो। त्रिपाल टाँघेर ४ वर्ष त्यै ठाउँमा बिताएकी राजवंशीले भनिन, ‘छोरा र श्रीमानले कमाउन थालेपछि नहरकै डिलमा सानो छाप्रो बनाएका छौ।’
भेलामुनिमा ४४ छाप्रा छन्। उनीहरू सबैको दिनचर्या भनेकै मजदुरी हो। बाढीले बचाएका जग्गाको अधियाँ, ठेक्का र सिकर्मी, डकर्मीको काम उनीहरुले गर्नुको विकल्प छैन। काम नगरे माम नपाईने उनीहरुको भनाई छ।
कन्काई नदीले कटान गरेर पूर्ण विस्थापित भएका परिवारले सरकारी राहत अहिलेसम्म पाएका छैनन्। निर्वाचन ताका आउने नेता कार्यकर्ता पनि यो बस्तीमा अहिलेसम्म पुगेका छैनन्। शहर बजारमा डिजे घन्काएर चुनावी प्रचार प्रसारमा होमिने राजनितिक दल शनिबारसम्म यहाँ भोट माग्न आएका छैनन्।
स्थानीय भन्छन्, ‘अघिल्ला निर्वाचनमा बाँढेका आश्वासन झुठो सावित भएपछि लाजले नआएका होलान्।’ हुन पनि स्थानीय तहको निर्वाचनमा मत माग्न खुलेर कुनै पनि पार्टीका मेयर उपमेयर पदका उम्मेद्धार पुगेकै छैनन्। मत माग्न आए भने बासको व्यवस्था गर्नेलाई सुकुम्बासीको साथ रहने उनीहरूले सेतोपाटीसँग बताए।
भेलामुनि र नजिकैको किच्चकडाँगीमा ८२ को हाराहारी घर धुरी रहेको सुकुम्बासी बस्तीमा २ सय ३५ जनाको मताधिकार छ। ‘हामीलाई अहिलेसम्म कसैले पुर्नस्थापना गरेन,’ स्थाानीय निषादी राजवंशीले भनिन्, ‘नत सरकारले गर्यो नत दलका नेता कार्यकर्ताले नै। घर जग्गा नहुनेलाई पुर्नस्थापनाका लागि सरकारले ल्याएको कार्यक्रम वास्तविक पीडितको छाप्रामा अझै पुगेको छैन। ’
उनले पहुँच हुनेलाई मात्र सरकारका कार्यक्रम पुगेको दबी गरिन्। स्थानीय अर्की कलावती राजबंशीको पनि ८ बिगाहा जग्गा बगरमै छ। बगरमा पटेर र काँस पलाएको ठाउँ देखाउँदै उनले भनिन्, ‘के गर्नु रोकथाम कतैबाट नहुँदा आज यो हालत भयो।’
भेलामुनिका सुकुम्बासीको एउटै मुद्दा छ पुर्नस्थापना। जसले सम्बोधन गर्ने ग्यारेन्टी गर्छ उसैलाई मत दिने उनीहरूले बताए।
२०४८ सालको संसदीय निर्वाचनमा एमालेका राधाकृष्ण मैनालीले जिते। २०५१ को मध्यावधी निर्वाचनमा उनकै भाई सिपी मैनालीले एमालेबाटै जिते। २०५६ को संसदीय निर्वाचनमा तारासम याङ्याले एमालेबाटै तेस्रो पटक जितेको निर्वाचन क्षेत्र नम्बर ५ मा पर्ने सो ठाँउमा २०६४ र २०७१ सालमा भएको संविधान सभाको निर्वाचनमा नेपाली कांग्रेसका केसबकुमार बुढाथोकीले जित हात पारेका थिए।
‘चुनाव जितेपछि कुन नेताको अनुहार कस्तो भयो केही थाहा छैन। उहाँहरुका त्यसताका भाषण कन्काईको पाता फर्काउने र बगरलाई खेतियोगग्य जमिन बनाएरै छाड्ने थियो तर कन्काईले स्थानीयको जग्गा कटान गरेर वगर बनाएपछि उहाँहरु आउनु भएन,’ स्थानीय गुनासो गर्छन्, ‘बरू २०७१ सालको संविधान सभाको निर्वाचनमा हारेका नेता एलपी साँवा लिम्वु आएर सान्त्वना दिए। मैले हारे पनि हामीले हारेका छैनौं कटान रोक्न भेटिवरलगायतका अभियान शुरू भएको छ भनेर हामिलाई ढाडस दिए। नेतामा हुनु पर्ने गुण साँवा वाहेक अरुकसैले देखाएनन्। सायद त्यसैको डरले होला स्थानीय तहको निर्वाचनामा सवै दलले उठाएका मेयर र उपमेयर पदका उम्मेद्धार मत माग्न आएकै छैनन्।