लुम्बिनी विकास कोषका बनस्पती अधिकृत सबिर अहमद खाँले लुकाई राखेको काठ शुक्रबार जिल्ला बन कार्यालय रूपन्देहीले नियन्त्रणमा लिएको छ ।
जिल्ला बन कार्यालयबाट गएको एक टोलीले लुम्विनी बिकास कोषको परिसर बाहिर राखिएको १२ थान र साबिक कम्हरीया गाबिस वडा नं ९ मा रहेको सग्गिर स-मिल परिसरमा लुकाई राखेको अवस्थामा २१ थान सिसौको काठ बरामद गरेको हो ।
लुम्बिनी क्षेत्रमा काठ तस्करी भई रहेको सूचनाका आधारमा त्यस क्षेत्रमा पुगेको बन कार्यालयको टोलीले ती दुई स्थानबाट उक्त परिमाणको काठ बरामद गरेको जिल्ला बन कार्यालय रुपन्देहीका सहायक बन अधिकृत गिरीराज पन्तले सेतोपाटीलाई जानकारी दिए ।
पहिले कसको हो खुलाउन गाहे भए पनि पछि मिलधनीले लुम्बिनी बिकास कोषका बनस्पती अधिकृत सबिर अहमदको भएको बताएको पन्तले जानकारी दिए ।
स्थानीय काठमिल सञ्चालकले सबिर अहमदको काठ भएको र निजको खेतबाट काटेको बताएपछि बन कार्यालयको टोली अहमदको खेतसम्म पुगेर अनुसन्धान गरेको थियो ।
‘अहमदको खेतमा सिसौ काटिएको पायौं तर त्यहां काटिएको समय, सिसौको परिमाण र त्यसको गोलाई बिस्तृत अनुसन्धान गर्नुपर्ने हुन्छ । प्रारम्भीक अनुसन्धानले खेतमा काटिएको र बरामद भएको काठको प्रकृत्ति मिल्दैन, त्यस क्षेत्रमा बन्दको कारण परिस्थिति असहज भएकोले हामी फर्कियौं,’ उनले भने ।
सबिरलाई पटक पटक लुम्विनी बिकास कोष परिसर भित्रका काठ तस्करीमा सम्लग्न रहेको आरोप लाग्दै आएको भएपनि यसअघि यसरी बरामद भने हुन सकेको थिएन ।
बनस्पती अधिकृत सबिरले बिगतमा बिभिन्न ढंगले कोषका पदाधिकारी संगको मिलोमतोमा अनाधिकृत ढंगले काठ काटी तस्करी गरेको आरोप लाग्दै आएको थियो । लुम्बिनी विकास कोषमा कार्यरत कर्मचारीहरुले कोषभित्रका काठ चोरीमा समेत सबिरको हात रहने आरोप लगाउंदै आएका थिए । विकासकोष भित्र हरेक वर्ष ठूलो संख्यामा काठ कटान हुने र चोरी हुने गरेका समाचार सार्वजनिक हुने गरेका थिए ।
केहि समय अघि लुम्बिनी बिकास कोषले जिल्ला बन कार्यालयबाट १५ सय रुख काट्ने अनुमति लिएर ३५ सय भन्दा बढी कटान गरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन था लेपनि उक्त घटना त्यत्तिकै साम्य भएको थियो ।
अख्तियारले समेत छानबिन थाले पनि काठ तस्करीमा संलग्न सविरलाई कुनै कारबाही नभएपछि उनको मनोबल बढेको विकास कोषका एक कर्मचारीले बताए। ‘सबिरले कसैलाइै टेर्न छोडेका थिए,’ उनले भने, ‘सबिरले कसरी मिलाउँछन् कसरी सवैलाई थाहै पाईन्नँ,’ उनले थपे।
लुम्विनी बिकास कोषका बनस्पती अधिकृत अहमदलाई लुम्विनी बिकास कोष परिसरका बिरुवा नष्ट गर्ने र हरेक वर्ष वृक्षारोपणका नाममा लाखौं रुपैया कुम्ल्याउने गरेको समेत आरोप लाग्दै आएको थियो।
यता सबिर अहमदले भने बरामद भएको काठ आफ्नो खेतको भएको र केही समय पहिले कटान गरेको दाबी गरेका छन् ।