भारत चण्डीगढको एउटा क्लबले काठमाडौंको कीर्तिपुरस्थित त्रिवी मैदानमा एसियन क्लब प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ।
नेपाली टिमको हङकडविरुद्ध विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारी हालसम्म सुरु नभएको अवस्थामा क्लब स्तरको यो प्रतियोगिता आउँदो ६ गतेदेखि सुरु हुन लागेको हो। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्टले यसको पुष्टी गर्दै नेपालले मैदान र प्राविधिक सहयोग दिएको बताए।
सेतोपाटीसँग कुरा गर्दै बिष्टले भने, ‘उनीहरुले सम्पूर्ण खर्च बेहोर्छु। मैदानको दैनिक भाडा तिर्छु र उताबाट ल्याएको खेल सामाग्रीहरु यही छोडेर जाने भनेपछि हामीले हुन्छ भनेका हौँ।’
१५ दिन चल्ने यो प्रतियोगितामा ६ टोली रहने र तिलकरत्ने दिल्सान र परवेज महारुफ जस्ता पूर्व स्टार खेलाडी समावेश रहने बताइएको छ। खेलाडीको अक्सन भोलीबाट सुरु हुने बताइएको छ। नेपाली खेलाडीमा कसलाई अक्सनमा राखिएको छ, त्यो स्पष्ट हुन सकेको छैन। प्रतियोगितामा विजयी हुने टोलीले ४० लाख रुपैयाँ प्राप्त गर्ने, दोस्रो हुनेले १६ लाख र तेस्रो हुनेले ८ लाख रुपैयाँ प्राप्त गर्ने बताइएको छ।
नेपालले गेम खेलाएबापत मैदानको दैनिक २५ हजार ज्याला लिने बताएका छ। यसअघि यो प्रतियोगितालाई एसियन प्रिमियर लिग टि–२० को नाममा खेलाउने प्रस्ताव आएको थियो। तर, परिषद्ले यो नाम राख्न एसियन क्रिकेट महासंघ (एसिसी) बाट मान्यता लिएर आउनु पर्ने बताएपछि नाम फेरेर एसियन क्लब प्रिमियर लिग बनाइएको सदस्य–सचिव बिष्टले जानकारी दिए।
‘परिषद्को भूमिका सहजकर्ताको हो। नेपालमा अन्तर्राष्ट्रियस्तरको खेलाडी आएर खेल्दा राम्रो सन्देश जान्छ भनेर दिएका हौं, उनले भने। भारतको सोनी सिक्सले प्रत्यक्ष प्रसारण गर्ने भनिएको यो खेलको विषयमा सम्पूर्ण जानकारी न आयोजकले दिएको छ, न राष्ट्रिय खेलकुद परिषद्ले नै। नेपाली खेलाडीलगायत प्रशिक्षक पनि नेपालमा आयोजना हुन लागेको यो प्रतियोगिताको विषयमा अनभिज्ञ छन्। ‘हामी भर्खर सुन्दै छौं,’ एक अन्तर्राष्ट्रिय खेलाडीले भने।
राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले पनि यस विषयमा आफूहरु अनभिज्ञ रहेको बताए। ‘डेढ महिना अगाडि चण्डीगढका एक व्यक्ति प्रतियोगिता गराउने भनेर आएका थिए। उनै होलान,’ उनले भने। प्रतियोगिताको टुँगो लागेका कारण आफूहरुलाई अब जानकारी हुन सक्ने उनले बताए।