सिङ्गापुर फुटबलको १ सय २५ औं स्थापना दिवसको उपलक्ष्यमा आउँदो मंगलबार अर्जेन्टिनाविरुद्ध आयोजना हुन लागेको मैत्रीपूर्ण खेलमा बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेसी मात्र होइन, युभेन्ट्सका गोञ्जाले हिग्विन पनि नखेल्ने पक्का भएको छ।
पहिले मेसी र म्यानचेस्टर सिटीका डिफेन्डर निकोलास ओटमेन्डीले मात्र नखेल्ने खबर बाहिर आएको थियो। तर, अहिले हिग्विन पनि खेलमा समावेश नहुने आयोजक युनिसेसले जानकारी दिएको छ। गत जुन ९ मा ब्राजिलसँग ९५ हजार दर्शक उपस्थित मेलबर्न क्रिकेट मैदानमा अर्जेन्टिनाले मैत्रीपूर्ण खेल खेलेपछि सिङ्गापुर लागेको थियो।
सिङ्गापुर आएको टिममा मेसीसहित सबै खेलाडी समावेश थिए। तर, मेसी चार्टन प्लेन समातेर ब्युनोज आयर्स फर्किसकेका छन्। उनको जुलाई ३० मा प्रेमिका आन्टोनेला रोकुजोसँग बिवाह गर्ने कार्यक्रम छ। ओटमेन्डी पनि वैवाहिक बन्धनमा बाधिँदैछन्।
मेसी खेलमा अनुपस्थित हुने खबर बाहिरिएपछि स्थानीय दर्शकले यसको विरोध गरेका थिए। मैत्रीपूर्ण खेलको आयोजना गरिरहेको युनिसेसका अनुसार व्यक्तिगत कारण मेसी, ओटमेन्डी र हिग्विन मंगलबारको खेलमा अर्जेन्टिनी टोलीमा समावेश हुने छैनन्।