पछिल्लो समय दक्षिण कोरियामा निकै दुःखदायी घटनाहरू घटे, इपिएसमार्फत कोरिया आएका गोरखाका सुनिल अधिकारीले आत्महत्या गरेको ५ दिन नपुग्दै पर्वतका राजकुमार बिकको औधोगिक दुर्घटनामा परि शुक्रबार ज्यान गयो।
२०१७ लागे यता करिब ६ महिनाकै अवधिमा ९ जना नेपालीले बिभिन्न कारणले कोरियाली भूमिमा ज्यान गुमाए। आत्महत्या ,कम्पनी दुर्घटना, सुतेकै अवस्थामा मृत्यु हुने आदि घटनाले कोरियामा कार्यरत नेपाली श्रमिकलाई निकै त्रसित बनाएको छ।
आखिर यस्ता दुःखदायी घट्नाको निराकरणको लागि नेपाली दूतावासले के कस्तो कदम चाल्दै छ? यीनै कुराहरुलाई समेटेर सोलस्थित नेपाली दूतावासमा महामहिम राजदूत अर्जुनजंग बहादुर सिंहसँग सेतोपाटीका लागि किशन गौतमले गरेको कुराकानीको सम्पादित अंश
करिब ४० हजार नेपाली श्रमिकको अभिभावकको रूपमा कोरिया आउनु भएको छ, यहाँका श्रमिकको अवस्थालाई कत्तिको नजिकबाट नियाल्नु भएको छ?
म, राजदूतको रूपमा कोरिया आएको त्यति धेरै समय त भएको छैन तर पनि हामी नेपाली श्रमिकका अवस्थालाई अत्यन्त नजिकबाट बुझ्ने प्रयत्नरत छौं। म, आइसकेपछि ब्याक्तिगत रुपामा दूतावासमा त्यस्तो ठूलो गुनासा नआए पनि संघ संस्था मार्फत केही कुराहरू आएका छन्। यीनै कुराहरूलाई मध्यनजर गर्दै निकट भविष्यमै आइतबारको दिन पनि दूतावास खुला राख्ने तयारीमा लागिरहेको जनकारी गराउन चाहन्छु। मैले महसुस गरेको एउटा कुरा के भने कोरियाको निकै बिकट दुर्गम एरियामा पनि नेपालीले काम गर्दा रहेछन् तर उनीहरूलाई आवश्यकता पर्दा दूतावास आउन पनि निकै टाढा र कठिन रहेछ। आहिले जुन ठाउँमा दूतावास भवन छ यो अलिकति नेपालीले भेट्टाउन गाह्रोपर्ने ठाउँमा रहेको मैले महसुस गरेको छु।
पछिल्लो समयमा कोरियामा जुन दुःखदायी घटना घटे, यसको न्यूनीकरणको लागि दूतावासको रणनीति कस्तो छ? केही कुरा खुलाइदिनुस न?
कोरिया आउँदा कोरियाको नीति अनुसार श्रम सम्झौता गरेर आइएको हुन्छ? आफू शारीरिक र मानसिक रुपमा तयार छु भनेर आउने हो। एउटा दुःख लागेको कुरा केही दिन पहिले एक जना नेपालीले आत्महत्या गरे, त्यो घटना घटेको ठाउँमा म स्वम पुगेर बुझेँ। त्यहाँ कार्यरत १२ जना नेपालीलाई राखेर कुरा गरे। आखिर उनले आत्महत्या गर्नुमा कम्पनीको कुनै पनि दोष देखिएन। यस्तो मानसिक दुर्वलताको कारण नै आत्महत्या बढ्ने हो। त्यसकारण पहिला त आफुलू आफैंलाई सक्षम सोच्न जरूरि छ। दूतावासले यस्ता आत्महत्या तथा दुर्घटना न्यूनीकरणको लागि विभिन्न सचेतनामुलक कार्यक्रम राख्ने तयारी गर्दै छौं। अब केही दिनमा कोरियाको थेगुमा सचेतनामुलक कार्यक्रम राख्दै छौं। हामी सकेसम्म यस्ता कार्यक्रमलाई अलि बिकट ठाउँसम्म पुर्याउने तयारीमा छौं।
हिजो मात्र अर्को दुर्घटनाको केस आएको छ। सोमबार हामी घटनास्थल तर्फ गएर सत्य तथ्य बुझ्ने प्रयासमा छौ। यसको अलावा हामीले कोरियामा रहेका नेपाली श्रमिक दाजुभाई दिदी बहिनीहरुलाई दूतावासले गर्ने सहयोगको लागि कुनै कुरामा कमि आउन नदिने बचनबद्व छौ।
औधोगिक दुर्घटनामा धेरै नेपालीले ज्यान गुमाएको अअवस्था छ। कम्पनीले सुरक्षा साधन नदिएको अथवा कम्पनीकै लापरबाहीको कारण दुर्घटनामा परेको भन्ने धेरै सुनिन्छ? यदि कम्पनीकै कारण दुर्घटना परेको हो भने त्यस्तो कम्पनी साहुलाई कारबाहीको लागि दूतावासले कस्तो पहल गर्न सक्छ?
दुर्घटना अचानक हुने कुरा हो, कतिपय आफ्नै कारणले पनि दुर्घटना हुन सक्छ भने कतिपय दुर्घटना कम्पनीको लापरबाहीकै कारण भएको पनि हुनसक्छ। हामी त्यसको लागि घटनास्थल पुगेरै सत्य तथ्य बुझ्ने कोशिश गर्नेछौ। यदि कम्पनीको लापरबाहीको कारण दुर्घटना भएको रहेछ भने नेपाल सरकारको इपिएसको सम्झौतामा उल्लेख भए बमोजिम क्षतिपूर्ति दिलाउने वा अन्य कारबाहीको लागि हामीले प्रयत्न गर्छौं। तर एउटा कुरा मलाई दुःख लागेको हिजो मात्र एक जना नेपालीले ट्विट गर्नु भएको रहेछ ‘यस्तै प्रकारका दुर्घटना हुने हो भने के गर्ने सरकार’ भनेर , एउटा कुरा के बुझ्नु पर्यो भने दुर्घटना सरकारले गराउने होइन। सरकारले दलाल मार्फत कोरिया पठाउँदा धेरै खर्च लाग्यो भनेर सहुलियतको लागि इपिएस प्रणाली लागू गरि कम खर्चमा कोरिया पठाउने सम्झौता गर्यो। अब यो कुरालाई पनि नकारात्मक रुपले हेरेर त भएन नि। आफू पनि एकदमै चनाखो हुनुपर्यो। सम्पूर्ण घटनाहरु कम्पनी कै कारण नहुन पनि सक्छन्।
हाल दूतावास श्रम सहचारीबिहिन भएको अवस्था छ, कहिलेसम्म पठाउने तयारी छ नेपाल सरकारको?
दूतावासमा कर्मचारीको आभावलाई महसुस गरेर मैले हिजो मात्र नेपाल सरकारलाई ताकेता गरेर पठाएको छु। अहिले श्रम सहचारीको लागि नेपाल सरकारले अलि धेरै क्राइटेरिया तोकेको रहेछ। त्यसकारण अलि ढिलाई भएको हो। आशा गरौ छिट्टै आउनु हुनेछ।
अन्त्यमा कोरियामा रहेका करिब ४० हजार श्रमिकलाई यहाँको सल्लाह, सुझाब के रहला?
जुन प्रकारको बाध्यता, मजबुरी तथा अस्था यहाँका श्रमिकको छ त्यसमा म अत्यन्त गम्भीर छु। समस्या समाधानको लागि मेरो पहल हरदम रहने छ। तथा दूतावासको निश्चित दायरा वा प्राविधिक कारणहरूलाई पनि यहाँ रहेका सम्पूर्ण पत्रकार, बुद्धिजीवी श्रमिक वर्गहरूले बुझिदिनु हुनेछ भन्ने अपेक्षा राखेको छु। मा एउटा कुरा तपाइँको मिडिया मार्फत के भन्न चाहन्छु भने सम्पूर्ण श्रमिक वर्गले दूतावास मार्फत हाम्रो समस्या समाधान हुन्छ र आफ्नो हक अधिकारको रक्षा हुन्छ भन्ने कुरामा बिश्वस्त रहन आग्रह गर्दछु।