अफगानिस्तानी लेग स्पिनर रसिद खानले एकदिवसीय क्रिकेटमा कीर्तिमानी बलिङ गरेका छन्। उनले वेष्ट इन्डिजविरुद्ध १८ रन खर्चिने क्रममा ७ विकेट लिएपछि वेष्ट इन्डिज आफ्नै घरेलु मैदान सेन्ट लुसियामा ६५ रनले पराजित भएको छ।
विन्डिजसँग टि–२० शृंखला ३–० ले गुमाएको अफगानिस्तानले घरेलु टोलीलाई पहिलो एकदिवसीयमा स्तब्ध पार्यो। अफगानिस्तानले पहिलो ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा बनाएको २ सय १२ रनको सहज लक्ष्य पछ्याउने क्रममा विन्डिज ४४ दशमलव ४ ओभरमा १ सय ४९ रनमा अल आउट भयो।
१८ वर्षीय रसिद बलिङ गर्न उत्रिनुअघि विन्डिजले ६२ रनमा २ विकेट मात्र गुमाएको थियो। तर, रसिद बलिङमा उत्रिएपछि विन्डिजले पहिलो दुई ओभरमा २–२ विकेट लिएका थिए। उनले ८ दशमलव ४ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ७ विकेट लिए।
उनले लिएको विकेट एकदिवसीयमा श्रीलंकाका चामिन्दा भाष, पाकिस्तानका साहिद अफ्रिदी र अस्ट्रेलियाका ग्लेन म्याग्राथपछि चौथो उत्कृष्ट बलिङ हो। भाषले २००१ मा जिम्बाबेविरुद्ध १९ रन खर्चेर ८ विकेट लिएका थिए। अफ्रिदीले २०१३ मा वेष्ट इन्डिजविरुद्ध १२ रन खर्चेर ७ तथा अस्ट्रेलियाका ग्लेन म्याग्राथले १५ रन खर्चेर नामिबियाविरुद्ध २००३ मा ७ विकेट लिएका थिए।