नक्कली नेपाली नोटसहित प्रहरीले बुटवलमा एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले बुटवल ११ बुद्धनगरमा बस्दै आएको २१ वर्षिय सन्तोष मल्ललाई नक्कली नेपाली नोट र नोट छाप्न प्रयोग गरिएको मेशिनसहित पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले प्रभु बैंक बुटवल शाखामा नक्कली एक हजार दरका ७० थान नोट फेला परेको सूचनाको आधारमा अनुसन्धान गर्दै जाँदा मल्ललाई पक्राउ गरिएको बताए ।
पक्राउ परेका मल्लले बुटवल ११ बुद्धनगरमा अर्फन हेल्पीङ हेन्ड (असहायका लागि सहयोगी हातहरु) नामक संस्था संञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ । प्रहरीले मल्लको घरबाट नेपाली एकहजारका १ सय र पांचसयका १ सय थान गरि एक लाख ५० हजार र उनले संचालन गरेको अफिसबाट एकहजारका २ सय ५९ र एक सयका पाँच थान गरी ४ लाख ९ हजार पांच सय नक्कली नोट समेत बरामद गरेको छ ।
त्यसैगरी नोट छाप्न प्रयोग गरिएको प्रि ईन्क प्रिन्ट मेसिन एकथान, ल्यापटप एकथान, पैसा छाप्न प्रयोगमा ल्याईएको कागज र अर्फन हेल्पिङ हेन्ड नामको व्यानर र १० ठेली रसिद समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
मल्लले पहिलो पटक एक लाखको गड्डीमा एक हजार र दोस्रो पटकमा १४ हजार नक्कली रुपैया मिसाएर बैंकमा जम्मा गरेका थिए । बैंकका कर्मचारीले दुई पटक नक्कली नोट जम्मा गर्दा समेत पत्तो नपाएपछि उनले एक लाख नै बैंक काउण्टर पुराएको प्रहरी नायब उपरीक्षक मरासिनीले जानकारी दिए ।
तेस्रो पटक जेठ २२ गते आफ्नो खाताबाट एकलाख निकालेर सक्कली पैसा खल्तीमा राखि नक्कली पैसा फिर्ता गरी ५ सय दरको नोट बैंकसंग मागेर मल्लले घर लगेका थिए । मल्लले एकै दिनमा एक घण्टाको अन्तरमा बैंकमा पैसा जम्मा गर्ने र निकाल्ने गरेपछि बैंकले शंका मानि प्रहरीलाई सूचना गरेको थियो । दैनिक जसो बैंकिङ कारोबार गर्न थालेपछि उनीमाथि शंका गरिएको थियो ।
मल्लले गतवर्ष बुटवलका केही व्यक्तिहरुको प्रोफाइल सहितको पुस्तक निकालेर पैसा संकलन गर्दै आएको प्रहरीले जनाएको छ । मल्लमाथी मुलुली ऐन २०२० को खोटाचलनको महलको ४ नं. बमोजिम मुद्धा दर्ता गरी कारवाही प्रकृया अघि बढाईएको प्रहरीले जनाएको छ । खोटाचलन मुद्धा अन्तर्गत दोषि प्रमाणित भए १० वर्ष कैद हुने प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरीले लागुऔषध ब्राउनसुगरको कारोवार गर्ने पांचजनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ । बुटवल ११ कै २६ वर्षिय राजु नेपाली र बुटवल २ बस्ने ३२ वर्षको राजु मगरलाई १० ग्राम ब्राउनसुगर र नगद ३३ हजार ३ सय ५ सहित पक्राउ गरेको हो ।
त्यसैगरी भारतबाट लागुऔषध खरीद गरी पोखरातर्फ लैजादै गरेको अवस्थामा अन्य तिनजनालाई पनि पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मरासिनीले जानकारी दिए । पक्राउ परेकाहरुमा पर्वतको कुश्मा नगरपालिका वडा नं. ४ घर भई हाल पोखरा उपमहानगरपालिका वडा नं. १५ नयाँगाउँ बस्ने २५ वर्षको गौरव गुरुङ, लम्जुङ रम्घा गाउँपालिका वडा नं. ८ घर भई हाल पोखरा अर्चलवोट बस्ने २६ वर्षको संजय नेपाली र पोखरा नदिपुरको २२ वर्षिय दिपक पुन रहेका छन् ।
प्रहरीले उनिहरुको साथबाट लागुऔषध डाईजेपाम ५४ थान, नुर्फिन ५४ थान र फेनरागन ५४ थान बरामद गरेको छ । पक्राउ परेकाहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ को परिच्छेद ३ अनुसार पन्ध्र वर्षदेखि जन्म कैद र पाँच लाख रुपैया देखि पच्चीस लाख रुपैयासम्म जरिवाना हुनसक्ने प्रहरी नायब उपरीक्षक मरासिनीले जानकारी दिए ।