पहिलो पटक दुई दलित युवाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
सफल आरोहण गर्ने युवामा प्रकाश सुन्दास र विजय विश्वकर्मा छन्। बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आरोही सुन्दासले सगरमाथा आरोहणको अनुभव सुनाउँदै १० वर्षदेखि नेपालको छ हजार मिटरभन्दा अग्लो आठ वटा शिखर चढेको र सगरमाथा आरोहणबाट आफूले गौरवको अनुभूति गरेको बताए।
गएको जेठ ८ गते सगरमाथाको सफल आरोहण गरेका सुन्दासले अब दलित महिलालाई पनि अभियान नै सञ्चालन गरेर सगरमाथाको आरोहण गर्न उत्प्रेरित गर्ने बताए।
अर्का आरोही विश्वकर्माले आर्थिक अभावका कारण आफूले सगरमाथा आरोहण गर्ने अवसर नपाउने हो कि भन्ने चिन्ता लागेको भन्दै ट्र्याक नेपालको सहयोगमा आफूले सगरमाथा आरोहण गरेको जानकारी दिए।
राष्ट्रिय दलित आयोगका कावा अध्यक्ष मन्जित ताम्राकारले पर्वतारोहण क्षेत्रबाट देशको गौरव बढाएको बताउँदै सगरमाथाको सफल आरोहण गरेर युवा पुस्ताले भावी सन्ततीलाई उत्प्रेरणा दिएको बताए।