सोमबार साउदी अरव, इजिष्ट, बहराइन, युएइ, लिविया र यमनले कतारसँग कुटनीतिक सम्बन्ध अन्त्यको औपचारिक घोषणा गरे।
घोषणा अन्त्यसँगै त्यहाँ रहेका नेपाली कामदारहरुलाई असर पर्ला कि नपर्ला भन्ने विषयले सबैको ध्यान तानेको छ।
नेपालीहरुको प्रमुख श्रम गन्तब्य रहेको कतारमा ७ देखि ८ लाखसम्म नेपालीहरु रहेका छन्। कतारमाथि नै ६ वटा मुलुकहरुले कुटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेपछि त्यहाँ बस्दै आएका नेपालीमाथि स्वत प्रभाव पर्ने विज्ञहरुले बताएका छन्। कामदाहरुमाथि प्रभाव परेपनि तत्काल आत्तिहाल्नु पर्ने अवस्था भने नरहेको उनीहरुले बताए।
कतारमा रहेका नेपालीमध्ये धेरैजसो ड्राइभर छन्। अधिकांश ड्राइभरहरुले ठूला लहरी चलाउँछन्। उनीहरुको काम भनेको कतारबाट साउदी सामान ओसारपसार गर्नु हो।
वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङले लहरी चलाउने चालकहरुलाई केही असर गर्ने बताए।
गुरुङका अनुसार नेपाली कामदार कतार एयरपोर्टभित्र पनि ट्रली ब्याइ, ग्राउण्ड ह्यान्डलिङजस्ता काम गर्छन। कतिपय देशमा कतारले उडान नभरेको खण्डमा उनीहरुको अवस्था पनि के हुन्छ भनेर सोच्नुपर्ने अवस्था छ।
यसका अलावा बहराइन, युएइ र साउदी अरवमा कतार एयरवेजमा काम गर्ने नेपाली छन। ती देशहरुमा उडान नै नभरेपछि ती कर्मचारीलाई कतार एयरवेजले स्वदेश फिर्ता पठाउलाँ कि अन्य स्थानमा खटाउँला भन्ने प्रश्नचिन्ह खडा भएको छ।
कतारमा दैनिक जीवनमा उपयोग गरिने खाद्यान्न अधिकांश साउदीबाट नै आउने गर्छ। केहीदिनपछि ती सामानहरुको अभाव हुने र नेपाली कामदारको तलवले त्यसलाई धान्न नसक्ने गुरुङ बताउँछन्।
'अहिले नै नेपाली कामदार आत्तिहाल्नुपर्ने अवस्था छैन,' गुरुङले भने, 'त्यसका लागि कामदारको अवस्था बुझ्न सरकारले पनि चासो दिनुपर्छ।'
कतारमा कामदारलाई पर्ने समस्याका विषयमा संघले नजिकबाट नियालीरहेको र कतार कामदार पठाउने म्यानपावरलाई आफ्ना कामदारको बारेमा बुझ्न निर्देशन दिइसकेको गुरुङले बताए।
तत्काल कतारसँग ६ राष्ट्रले कुटनीतिक सम्बन्ध अन्त्य नगरे कतारको अर्थतन्त्रमा ठूलो असर पर्ने उनले बताए। त्यस्तै अवस्था रहिरहे नेपाली कामदार स्वदेश फर्कनुको विकल्प नभएको उनले बताए।
वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष बलबहादुर तामाङले काठमाडौंबाट कतार जाने धेरै एयरलाइन्सहरु यमन, दिल्ली, युएइ ट्रान्जिट भएर जाने हुदाँ नेपाली कामदारलाई केही समस्या पर्ने बताए। उनले भने लहरी चलाउने नेपाली कामदारलाई सबैभन्दा बढी समस्या पर्ने बताए। १ महिनासम्म यही अवस्था रहे स्थिति विकराल हुने उनले बताए।
नेपाली कामदारले कमाएको रकमले खान समेत नपुग्ने स्थिति आउन सक्ने उनले बताए। अहिले देखिएको समस्या कुटनीतिक तहबाट समाधान नभए कतारमाथि आक्रमण हुन सक्ने भन्दै त्यसबेला नेपाली कामदार स्वदेश फर्कनुको विकल्प नभएको बताए।
ठूलो संख्यामा रहेका नेपाली कामदार स्वदेश फिर्ती भए कतारको आर्थिक क्षेत्र झन डामाडोल हुने तामाङको भनाइ छ।
६ देशले कुटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेपछि १४ दिनभित्र कतार छाड्न सम्बन्धित देशले आफ्ना नागरिकसँग आग्रह गरिसकेको छ।