नेपाल विद्युत प्राधिकरण बुटवल राजमार्ग चौराह ग्रिड कार्यालयका प्रमुख नारायण कुमार प्रसाई गम्भीर घाईते अवस्थामा आफ्नै निवासमा फेला परेका छन् । कार्यालयसँगै रहेको निवासमा घाँटीमा निलडाम र खुट्टामा गम्भीर चोट लागेको अवस्थामा भेटिएका प्रसाईको अहिले मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भईरहेको छ ।
करिब २ वर्षदेखि बुटवल ग्रिड कार्यालयका प्रमुखको रुपमा रहेका प्रसाई बहान कार्यालयको कामले फिल्डमा गएर फर्किएपछि साढे ११ बजे घाईते अवस्थामा आफ्नै निवासमा फेला परेका हुन् ।
प्रहरीले घटनाको बारेमा प्रसाईको निवास र विद्युत कार्यालयमा अनुसन्धान शुरु गरेको छ। ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले घाईते बेहोस र गम्भिर अवस्थामा रहेकोले उनीसँग थप सोधपुछ भन्दा पनि अन्य कर्मचारीसँग सोधपुछ र घटनास्थलको अनुसन्धान शुरू गरिएको जानकारी दिए ।
घटनास्थलमा कोठाभित्र सिलिङमा केबल तार टाँगिएको, शिशाको टेबल फुटेको र फ्रिज सधै रहने स्थानभन्दा केही पर सारिएको अवस्थामा फेला परेको मरासिनीले सेतोपाटीलाई जानकारी दिए ।
मरासिनीले घाईतेको खुट्टामा लागेको चोट कोठामै फुटेको अवस्थामा रहेको शिशाले काटेको हुनसक्ने भन्दै घटना कसरी भयो भन्ने अनुसन्धान भईरहेको बताए ।
साँझ बिहान खाना पकाउने एक जना सहयोगी रहे पनि निवासमा एक्लै बस्दै आएका प्रसाई बिहीबार साँझमात्र परिवारसँग भेट गरी काठमाडौंबाट बुटवल फर्किएको चालक बाबुराम ज्ञवालीले जानकारी दिए ।
‘बिहीबार साँझ मात्र भैरहवा विमानस्थलबाट कोठामा लगी छोडेको थिएँ,’ उनले भने,‘मलाई सरले फोन गरी बोलाएपछि जाँदा घाईते अवस्थामा भेटिनु भएको थियो।
उनले आफूलाई बिहान साढे ११ बजे तिर प्रसाईले फोन गरी कार्यालयको अगाडिको गेटबाट नभई पछाडिको गेटबाट आउन भनेको र निवासमा पुग्दा भुईभरी रगतै रगत भएको अवस्थामा फेला पारेको बताए।