आजकाल बजारमा 'ट्रेन्डी' ब्यागको माग बढ्दो छ। विशेष गरी युवाहरू नयाँनयाँ डिजाइनका झोला बोक्न सौखिन देखिन्छन्।
बजारको मागअनुसार व्यवसायीहरू विदेशी मुलुकबाट थरीथरीका ब्याग भित्र्याउँछन्। कतिपय ग्राहकलाई नेपाली उत्पादनमा डिजाइनको विविधता छैन भन्ने लाग्छ। कतिपयमा नेपाली उत्पादन गुणस्तरीय हुँदैन भन्ने धारणा पनि छ।
यस्ता ग्राहकका लागि व्यवसायीले विदेशी उत्पादन बेच्छन्।
तीस वर्ष आसपास उमेरका ६ जना युवा व्यवसायीको एउटा टिम भने डिजाइनको विविधतासहित गुणस्तरीय ब्याग उत्पादन गर्न कम्मर कसेर अघि बढेको छ।
टिममा कुशल अछामी, अजित भट्ट, चाँदनी महत, सुस्मिता अछामी, बिनु श्रेष्ठ र प्रमुदिता उदास छन्।
उनीहरूले २०७९ चैतमा सुरू गरेको 'लुहा स्टुडियो' ले पछिल्लो ६ महिनादेखि विभिन्न डिजाइनका ब्याग उत्पादन गर्दै आएको छ।
त्यसमा पनि विशेष छ टोट ब्याग।
'टोटसँगै विभिन्न आठ वटा डिजाइनमा ब्याग बनाइरहेका छौं। किफायती मूल्यमा प्रिमियम ब्याग बजारमा पुर्याउनु हाम्रो लक्ष्य हो,' लुहा स्टुडियोका एक सञ्चालक कुशल भन्छन्, 'ग्राहकको संख्या बढ्दै गएको छ। व्यापार विस्तार हुँदैछ।'
उनका अनुसार नेपालमै फेसनएबल र टिकाउ ब्याग बनाएर बजारीकरण गर्न उनीहरू प्रतिबद्ध छन्।
अजित, कुशल र चाँदनी कलेज पढ्दादेखिका साथी हुन्। लुहा स्टुडियो सुरू गर्नुअघि उनीहरू 'समसारा क्रिएसन्स' नामको कम्पनीमा थिए। अरू साथी पछि थपिएका हुन्।
समसारा २०७६ साउनमा सुरू भएको हो। यसले सामाजिक सशक्तीकरणका कार्यक्रम गर्छ। रिसाइकल (पुनः प्रयोग) सामग्रीबाट ब्याग बनाउँछ। समसाराकै सहकर्मीहरूको अवधारणामा लुहा सुरू भएको हो।
'लुहा स्टुडियोले समसारा क्रिएसन्समार्फत बिक्री हुँदै आएको ब्यागसहित थप सामग्री उपलब्ध गराउँछ। आफ्नै ब्रान्ड बनाउने हाम्रो योजना हो,' कुशलले भने।
समसाराबाट हुने कामसँगै कुशल र अजित आफ्नै ब्रान्ड स्थापना गर्ने विषयमा कुराकानी गर्थे। त्यसमा सुस्मिता पनि सामेल थिइन्। उनी समसाराको डिजाइनिङ हेर्थिन्। चाँदनी कम्पनीमा बिक्री प्रबन्धक र परियोजना सहयोगी थिइन्। यी सहकर्मीहरूबीच आफ्नै ब्रान्ड स्थापना गर्नेकुरा चल्यो।
कुनै नयाँ काम थाल्नेभन्दा पनि चालु कामकै ब्रान्डिङ गर्दै अघि बढ्ने सल्लाह भयो। यसैअनुसार लुहा स्टुडियोको ब्रान्डिङ सुरू भएको हो। समसाराले पहिले ब्याग बनाएर बिक्री गर्दा लुहा नामको उत्पादन थियो। कुशलका अनुसार त्यसैबाट लुहा स्टुडियो नाम जुरेको हो।
लुहाका सहकर्मी सञ्चालक अजित आफूहरू उत्पादनमुखी व्यवसाय गर्ने सोचले अघि बढेको बताउँछन्।
'उत्पादन विशेष, त्यसमा पनि नेपाली बजार लक्षित व्यवसाय गर्ने सोचसँगै लुहा स्टुडियो सुरू भएको हो। हामी बजारमा किफायती मूल्यमा प्रिमियम ब्याग बिक्री गर्दैछौं,' उनले भने।
लुहा स्टुडियोमा नौ सय ५० रूपैयाँदेखि दुई हजार चार सय ५० रूपैयाँसम्मका ब्याग पाइन्छन्। ब्याग औपचारिक र अनौपचारिक किसिमका तथा यात्राका लागि उपयोगी छन्।
यी ब्याग कटन, जुट र हेम्प (गाँजाको रेसा) बाट बनाइन्छन्। कच्चा सामग्री नेपाली नै हो। ढाका कपडाको टाइ पनि बन्छ।
नेपाली कच्चा पदार्थ उपलब्ध नभएको अवस्थामा भारतबाट मगाउँछन्। गुणस्तरमा कुनै पनि सम्झौता नहुने उनीहरूको दाबी छ।
हाल लुहामा 'वुमन आर्टिस्ट' नाममा २० जना महिलाले रोजगारी पाएका छन्। यी आर्टिस्टहरू आफ्नै घरबाट काम गर्छन्।
सञ्चालकहरूका अनुसार लुहाका उत्पादन बढीजसो युवा पुस्तामा प्रख्यात छन्। जागिरे महिला र पुरूषहरूले पनि मन पराएका छन्। लुहा स्टुडियोको सबभन्दा रूचाइएको ब्याग 'रेसा' नामको हो। विशेषगरी कलेज पढ्ने विद्यार्थीहरूले मनपराएका छन्। यसपछिको रोजाइमा जुटको टोट ब्याग छ।
उत्पादन काठमाडौं उपत्यकासहित केही ठूला सहरहरूमा उपलब्ध छ। विदेशबाट पनि सोधीखोजी हुने गरेको छ तर व्यापार भएको छैन।
'अर्डर आएको छैन तर सहज तरिकाले विदेश पठाउने योजना छ,' अजितले भने।
लुहाले व्यापार सुरू भएको पहिलो महिना करिब ६० हजार रूपैयाँको ब्याग बेचेको थियो। हाल मासिक सय वटासम्म बेचेर सरदर साढे एक लाख रूपैयाँसम्मको व्यापार हुँदैछ। सञ्चालक सहकर्मीहरू व्यवसाय विस्तारको योजना बनाउँदै छन्।
उनीहरू उपभोक्ताहरूको प्रतिक्रिया बुझेर डिजाइन परिमार्जन र सुधार गर्छन्।
'टोट ब्यागको फित्ता लामो भयो भन्ने गुनासो आएको थियो, हामीले छोट्यायौं। यसले राम्रो बजार पाएको छ,' कुशलले भने, 'हामी बजारको माग र ट्रेन्ड अनुसारको उत्पादनमा जोड दिन्छौं।'
लुहा स्टुडियोका उत्पादनको माग चाडपर्व विशेषमा बढ्ने गरेको छ। धेरैजसो पुरूषहरूले दिदीबहिनीलाई उपहार दिन यहाँको उत्पादन खोज्छन्। यसपालि कुशेऔंसीमा ढाकाको टाइ धेरै खोजी भयो।
ग्राहकहरूले समसारा क्रिएसन्सको वेबसाइट र लुहा स्टुडियोको इन्स्टाग्रामबाट उत्पादनहरू अर्डर गर्न सक्छन्। काठमाडौं उपत्यकाभित्र बढीमा दुई दिनमा र उपत्यका बाहिर बढीमा छ दिनमा उपलब्ध हुन्छ।
ललितपुरमा रहेको कार्यालयमा पनि किन्न पाउने सुविधा छ। लुहा स्टुडियो र समसारा क्रिएसन्सको कार्यालय एकै ठाउँमा छन्। कतिपय ग्राहक सामान हेरेर छान्न चाहने हुन्छन्। यस्ता ग्राहकका लागि आफैं हेरेर किन्न पाउने सुविधा छ।
लुहा स्टुडियोका धेरै ग्राहक नेपाली हुन्। कहिलेकाहीँ विदेशीले पनि किन्छन्।
'लक्जरियस र ह्यान्डमेड उत्पादन नेपाली बजारमा किफायती मूल्यमा उपलब्ध गराउनु हाम्रो लक्ष्य हो,' अजितले भने, 'बजार विस्तार गर्दा नेपाली ग्राहकलाई नै विचार गर्ने गरेका छौं।'
ब्रान्डको नाम पनि उनीहरूले यही अवधारणाबाट राखेका हुन्। अंग्रेजी शब्द लक्जरियसको 'एल-यू' र ह्यान्डमेडको 'एच-ए' मिलेर लुहा नाम फुरेको उनीहरू बताउँछन्।
यी ६ जना युवा सहकर्मीलाई परिवारबाट सहयोग र समर्थन छ। सुरूमा जागिरमा लागे हुन्थ्यो भन्ने अभिभावकहरू व्यापार बढ्दै र व्यवसाय विस्तार हुँदै गएपछि उनीहरूको भविष्यप्रति विश्वस्त भएका छन्।
धेरै जना मिलेर काम गर्न आपसमा विश्वास र भरोसा हुनुपर्ने उनीहरूको अनुभव छ। इमानदारी सबैभन्दा ठूलो कडी हो जसले आपसमा विश्वासको वातावरण बनाउँछ। उनीहरूले यही तथ्य आत्मसात गरेका छन्।
'हामी आपसमा छलफल गरेर निर्णय गर्छौं। सहमतिमा काम हुन्छ। निर्णय गरेपछि काम टुंगोमा पुर्याउँछौं। आआफ्नो जिम्मेवारी समयमै पूरा गर्छौं,' उनीहरू भन्छन्।
(लुहा स्टुडियोको इन्स्टाग्राममा जान यहाँ क्लिक गर्नुहोस्)
सम्पादकीय नोटः हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। ([email protected])
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)