राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले राष्ट्रिय एकता महाधिवेशनबाट निर्वाचित भएका अध्यक्षसहितको पदाधिकारीको शपथ ग्रहण कार्यक्रम बहिष्कार गरेका छन्।
आइतबार दिउँसो काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भएको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम उनी उपस्थित भएनन्।
महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देन, पदाधिकारी र केन्द्रीय सदस्यहरूले आइतबार शपथ ग्रहण गरेका थिए।
लिङ्देनको विपक्षमा उम्मेदवारी दिई पराजित भएका थापा उपस्थित भएनन्।
महाधिवेशनमा लिङ्देनले एक हजार आठ सय ४४ मत ल्याएका थिए भने थापाले एक हजार छ सय १७ मत ल्याएका थिए। चार सय १३ मत बदर भएको थियो।
राप्रपा अध्यक्षमा पराजित भएपछि थापाले एकपछि अर्को ट्वीट गर्दै पूर्वराजा ज्ञानेन्द्रका कारण आफू पराजित भएको आरोप लगाएका थिए।