राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमध्ये विद्युतीय मेसिनबाट भएको मतदानको मतगणना सकिएको छ।
विद्युतीय मेसिनबाट मतदान भएको अध्यक्षबाहेक उपाध्यक्ष, महामन्त्री र १४१ जना केन्द्रीय सदस्यहरूको मतगणना सकिएको निर्वाचन समितिका राजु बस्नेतले जानकारी दिए।
बस्नतेका अनुसार कागजी मतपत्रबाट मतदान भएको अध्यक्ष पदका लागि मतगणना प्रक्रिया सुरू भइसकेको छ। ‘जम्मा ७ मध्ये ५ वटा बाकस रूजु गर्ने काम सकिएको छ’, बस्नेतले भने,‘अब मतगणना सुरू हुन्छ।’
अध्यक्षको मत परिणाम आएपछि मात्र अन्य नतिजा सार्वजनिक गरिने उनले बताए।
राप्रपामा चार उपाध्यक्ष र तीन महामन्त्रीसहित १४८ जना केन्द्रीय सदस्यका लागि निर्वाचन भएको हो।
सात सह-महामन्त्री, कोषाध्यक्ष, सह कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्तासहित २५ प्रतिशत निर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था छ।
चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी परेको छ। पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, दिलविकास राजभण्डारी, र दुर्गा श्रेष्ठको उम्मेदवारी परेको छ।
एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्ती शाही, धवलशमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राको उम्मेदवारी परेको छ।
राप्रपाको शनिबार अबेर रातिसम्म सम्पन्न भएको मतदानमा ३ हजार ८ सय ७३ जनाले मतदान गरेका थिए।
४ हजार ३ सय ७९ महाधिवेशन प्रतिनिधि मध्ये ५०६ जनाले मतदानमा भाग नलिएको निर्वाचन समितिले जनाएको छ।
शनिबार बिहान ११ बजेबाट सुरू भएको मतदान आइतबार बिहान १ बजे सकिएको थियो। अध्यक्षमा मतपत्र तथा अन्य पदाधिकारी र केन्द्रीय सदस्यमा ८६ मेसिनबाट विद्युतीय मतदान भएको थियो।
राप्रपाको यो एकता महाधिवेशनमा अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनले प्यानलसहित उम्मेदवारी दिएका छन्।
यसैबीच प्रहरीले भृकुटीमण्डपको मूल गेटबाटै समाचार संकलनका लागि गएका पत्रकारलगायतलाई रोक लगाएको छ।