राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जारी महाधिवेशनको मतगणना सुरू भएको छ।
अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र १४१ जना केन्द्रीय सदस्यहरूको मतगणना सुरू भएको निर्वाचन समितिका सह-संयोजक तोरणबहादुर गुरुङले बताए।
‘मतगणनाका लागि बक्सा खोलिएको छ,’ उनले भने।
राप्रपाका ४ हजार ३७९ मध्ये ३ हजार ८७३ जनाले भोट खसालेका छन्। बाँकी ५०६ जना भने मतदान प्रक्रियामा सहभागी नै नभएको निर्वाचन समितिले जनाएको छ।
मतदान आइतबार बिहान १ बजेसम्म जारी थियो। मतगणनाअघि मुचुल्का उठाएर आचारसंहिता बनाइएको थियो।
शनिबार बिहान ११ बजेदेखि मतदान सुरू गरिएको थियो।
मंसिर १५ देखि सुरू भएको राप्रपा महाधिवेशनमा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा छ।
एक महिलासहित चार उपाध्यक्ष, तीन महामन्त्रीका लागि मतदान भएको थियो।
राप्रपाको १९९ सय केन्द्रीय समितिमध्ये बाँकी रहेका सहमहामन्त्री, प्रवक्ता, सहप्रवक्ता, कोषाध्यक्ष, सहकोषाध्यक्षसहित २५ प्रतिशत निर्वाचित अध्यक्षले गर्नेछन्।