राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा मतदान सुरू भएको छ।
अध्यक्ष पदका उम्मेदवार राजेन्द्र लिङ्देनले मतदान गरेका छन्।
बिहानै ११ बजेदेखि सुरू गरिने भनिए पनि राप्रपा मतदान झन्डै १२ बजेबाट मात्र सुरू भएको हो।
मतदान गर्न भृकुटीमण्डपमा महिला र पुरूष दुइटा लाइनमा बसेका छन्।
मतदानस्थलमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ।
मतदान राति १० बजेसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका अनुसार एक जनालाई मतदान गर्न १०-१५ मिनेटसम्म लाग्नेछ।
अध्यक्षबाहेक पदाधिकारी र केन्द्रीय सदस्यहरूका लागि इलेक्ट्रोनिक बुथ राखिएको छ। एक पटकमा ८६ जनाले भोट हाल्न सकिने गरी ८६ वटा मतदान बुथ राखिएको निर्वाचन समिति सदस्य राजु बस्नेतले बताए।
‘एक जनालाई १०-१५० मिनेट लाग्ने भएकाले राति १० बजेसम्ममा मतदान सकिन्छ भन्ने अपेक्षा राखेका छौं,’ उनले भने, ‘मतदान सकिएको एक घन्टापछि गणना सुरू हुने उनले बताए।
‘मतदान सकिएपछि गणना सुरू गर्दा राति ११ बज्न सक्छ,’ बस्नेतले भने।
उनका अनुसार मतपरिणाम दुई घन्टाभित्र आउने छ। अध्यक्षसहित सबै पदाधिकारी तथा सदस्यको मतपरिणाम एकैसाथ आउने उनले बताए।
राप्रपामा १४९ जनाका लागि उम्मेदवारी संख्या २७० परेको छ। मतदाता संख्या ४ हजार ३८० जना रहेका छन्।
राप्रपामा एक अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री र १४१ जना सदस्यका लागि मतदान भइरहेको छ।
राप्रपाको केन्द्रीय कार्यसमिति १९९ जनाको हो। सहमहामन्त्री, कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्तासहित २५ प्रतिशत निर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था छ।
अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनले प्रतिस्पर्धा गर्दैछन्।