राप्रपा महाधिवेशनमा अध्यक्षबाहेक सबै पदमा विद्युतीय माध्यमद्वारा मतदान हुँदैछ।
बिहान ११ बजेबाट निर्वाचन समितिले मतदान सुरू गर्दैछ। विद्युतीय मतदानका लागि एक सय वटा मेसिन तयारी अवस्थामा छन्।
निर्वाचन समितिका अनुसार ९१ वटा मेसिन मतदानस्थलमा रहने छन्। बाँकी चार वटा मेसिन मतदातालाई सिकाउनका लागि मतदानस्थलबाहिर राखिएको निर्वाचन समितिका सदस्य राजु बस्नेतले बताए।
‘बाँकी पाँच वटा मेसिन ब्याकअपमा राखिएको छ,’ उनले भने। उनका अनुसार ९१ जनाले एकैपटकमा मतदान गर्न सक्नेछन्। मतदानको समय अपराह्न ५ बजेसम्म छुट्याइएको छ।
तर, विद्युतीय मतदान भने अध्यक्षबाहेकका अन्य पदका लागि मात्रै प्रयोग हुने बस्नेतले बताए।
अध्यक्ष पदका लागि मतपत्र छापिएको छ। मतदाताको सहता, उम्मेदवारको चाहनाअनुसार अध्यक्ष पदका लागि मतपत्र छापिएको उनले बताए।
राप्रपा अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन भिड्दैछन्। राप्रपामा चार उपाध्यक्ष र तीन महामन्त्रीसहित १४८ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदैछ।
सात सहमहामन्त्री, कोषाध्यक्ष, सह कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्तासहित २५ प्रतिशत निर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था छ।
चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी परेको छ। पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, दिलविकास राजभण्डारी, र दुर्गा श्रेष्ठको उम्मेदवारी परेको छ।
एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्ती शाही, धवलशमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राको उम्मेदवारी परेको छ।
राप्रपामा चार हजार ३ सय ८० जनाको मतदाता नामावली प्रकाशित गरिएको छ।