राजधानीमा जारी नेकपा माओवादी केन्द्रको महाधिवेशनका क्रममा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले केन्द्रीय समितिको सूची प्रस्तुत गरिरहेका छन्।
आइतबार अपरान्ह ४ बजे सुरू भएको बन्दसत्रमा विभिन्न प्रस्तावहरू पारित भएपछि प्रचण्डले केन्द्रीय समिति सदस्यको सूची प्रस्तुत गर्न सुरू गरेका हुन्।
बन्दसत्रले अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत केन्द्रीय समिति सदस्यको प्रस्तावित नाम अनुमोदन गर्ने बताइएको छ।
यदि उक्त नामहरू अनुमोदन नभएमा निर्वाचन हुनेछ। त्यसका लागि सोमबार मतदान गर्नेगरी पार्टीको निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ।
प्रचण्डले केन्द्रीय सदस्यमा समानुपातिक बनाउने चुनौती रहेको बताए। उनले माओवादी अरू भन्दा अग्रगामी पार्टी भएकाले समानुपातिक सूची बनाउन चुनौती भएको बताए।
‘समानुपातिक हुँदा आउनुपर्ने छुटिरहेका छन् तर पछि ल्याउँदा हुने भएकाले ल्याउनु परिरहेको छ। महिला ३५ प्रतिशत चाहिएको छ, त्यो पनि बाहुन क्षेत्री महिला मात्रै रखेर भएन, मुस्लिम महिलानै पाइएन, जनसंख्याको आधारमा दिन पनि सम्भव रहेनछ’, उनले भने, ‘गल्ती गरिएछ भन्ने लागेको छ, व्यवहारिक रुपमा जटिलता कानुनी रुपमा बाध्यता भएन, समानुपातिक बनाउने चुनौती छ, अरू भन्दा हामी अग्रगामी छौ।’
महाधिवेशनमा आज विभिन्न तीन आयोगको प्रमुख चयन गरिएको छ। महाधिवशेन सुरु भएको आठौं दिनको बन्दसत्रमा अध्यक्षमण्डलका सदस्य गणेश शाहले तीन वटा आयोगका प्रमुख चयनका लागि बन्दसत्र हलमा प्रस्तुत गरेका थिए।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेताको उपस्थितिमा अध्यक्ष मण्डलका सदस्य शाहले लेखा, निर्वाचन, अनुशासन आयोगका सदस्यको नाम प्रस्तुत गरेका हुन।
अध्यक्ष मण्डलका तर्फबाट प्रस्तुत भएका ती आयोगका प्रमुख र सदस्यको नाम ध्वनीमतका आधारमा स्वीकृत भएको हो।
निर्वाचनमा विष्णुपुकार श्रेष्ठलाई निरन्तरता दिइएको छ। अनुशासनमा टङ्क राई र लेखा आयोगका पेशल खतिवडाको नाम अनुमोदन गरिएको छ। तीन वटै आयोगमा २५/२५ सदस्यीय रहने माओवादीको विधानमा व्यवस्था छ।
आयोगका सदस्यलाई केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन पाउने व्यवस्था छ । आजको बन्दसत्रले आर्थिक प्रतिवेदनलाई पारित गरेको छ ।
शनिबारको बन्दसत्रबाट पारित विधान अनुसार पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिने छ । केन्द्रीय कमिटी २ सय ९९ सदस्यीय हुनेछ ।