निर्वाचनसम्बन्धी प्रक्रिया पूरा गर्न पर्दैनथ्यो भने नेकपा माओवादी केन्द्रको महाधिवेशन आठौं दिनसम्म जाने नै थिएन। हलबाटै पुष्पकमल दाहाल प्रचण्डले आफू अध्यक्ष बनेर पदाधिकारी पछि टुंगो लगाउने भनेर महाधिवेशन समापन गरिदिन्थे।
तर माओवादीमा विगतमा जस्तो अब सजिलो छैन। महाधिवेशनले निर्वाचन प्रक्रिया पूरा गरेर केन्द्रीय कमिटी चयन गर्नुपर्दछ।
माओवादीको विधानअनुसार पदाधिकारी चयनलाई भने केही समय धकेल्न मिल्थ्यो। त्यसैले हुनुपर्दछ, पदाधिकारी चयन गर्न सक्ने अधिकार अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीलाई दिने निर्णय गराएका थिए।
यसअघि १५ पदाधिकारी बनाउने भने पनि अब त्यो अनिश्चित भएको छ। प्रचण्ड के चाहन्छन् भन्ने पदाधिकारी संख्याको अस्थिरतामा प्रष्ट देखिन्छ।
प्रचण्डले कुनै निर्णय लिए भने महाधिवेशनका प्रतिनिधिहरूले त्यसको विरोध गर्ने साहस त गर्दैनन्। तर प्रचण्डले कार्यकर्ताको चाहनाविपरीत आफैँ कमिटी घोषणा गर्न चाहेका छैनन्। किनकी पार्टीमा प्रचण्डले जबरजस्ती गरेको सन्देश दिन उनी चाहँदैनन्।
त्यसकै लागि केन्द्रीय सदस्यको प्रस्ताव गर्न प्रदेशलाई जिम्मा दिइएको छ। केन्द्रीय सदस्यको आकांक्षी धेरै भएकाले सबै प्रदेशले सजिलै टुंगो लगाउँछन् भन्ने छैन।
प्रदेशहरुले नाम प्रस्ताव गर्न नसकेर फेरि प्रचण्डलाई जिम्मा दिए भने नौलो नहुने एक केन्द्रीय सदस्यले बताए।
अर्कोतिर सहमति हुन नसके लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने भनेर प्रचण्डले दिएको अभिव्यक्तिले युवाहरु उत्साही बनेका हुन्। त्यही भनाइका आधारमा उनीहरु निर्वाचन हुनसक्छ भन्ने तर्क गर्छन्।
प्रदेश कमिटीको सिफारिसका आधारमा कमिटी चयन भएको हो प्रचण्डले हस्तक्षेप गरेर होइन भन्ने सन्देश दिनलाई पनि यस्तो गरिएको अर्का एक केन्द्रीय सदस्यले बताए।
‘उहाँलाई निर्वाचन गर्न पनि मन छैन। तर पेलेर गयो भन्ने सन्देश नजाओस भन्नेमा सचेत हुनुहुन्छ,' ती केन्द्रीय सदस्यले भने, 'प्रचण्डको दोहोरो मानसिकताले महाधिवेशन लम्बिएको छ। सहमति भएन भने अझै लम्बिन सक्छ। किनकी चुनाव होस् भन्ने उहाँको चाहना हुँदै होइन।'
सँगै प्रचण्डले तीन तहको निर्वाचन सकिएपछि विशेष महाधिवेशन गर्ने भनेर अहिलेको कमिटी अस्थायी हो भन्ने सन्देशसमेत दिन खोजेका छन्।
यो पनि प्रचण्डले प्रतिनिधीलाई अलमल्याउन बोलेको ती सदस्यको भनाइ छ।
'एकातिर अहिले यस्तो हतार-हतार गरेर महाधिवेशन गरिएको छ। फेरि विशेष महाधिवेशनको हल्ला फिजाएर यो केही होइन भन्ने पार्न खोज्नुभएको छ। यसले पार्टीलाई थप अस्थिर बनाउछ,' ती सदस्यले भने, 'आफ्नो नाम नपरेर विरोध गरेकाहरुलाई मनोनीत गर्ने भनेर आश्वास दिन मिल्छ भनेर त्यो कोटा पनि बढाइको छ।'
यसअघि मनोनLत १० प्रतिशत भनिए पनि शनिबार त्यसलाई बढाइएर १५ प्रतिशत पुर्याइएको छ।
शनिबार बेलुकी ८:३० बजेदेखि उमेदवारी दर्ताको लागि समय दिइएको भए पनि त्यसलाई सारेर आइतबार दिउँसो २:३० बजेपछि मात्रै भनिएको छ।
त्यो बेलासम्म सहमति हुन नसके फेरि पनि कार्यतालिका प्रभावित हुन्छ। किनकी निर्वाचन गर्नका लागि गर्नुपर्ने अरु थुप्रै तयारीका लागि माओवादी तयार भइसकेको छैन।