राजधानीमा जारी नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन अन्तर्गत केन्द्रीय समिति चयन गर्न निर्वाचन आयोगले संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
आयोगले यसअघि प्रकाशित गरेको कार्यतालिका संशोधन गर्दै नयाँ तालिका सार्वजनिक गरेको हो।
यसअघि पार्टीको आठौं महाधिवेशनको जारी बन्द सत्रमा शनिबार साँझबाटै निर्वाचन प्रक्रिया सुरु गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो। तर, सहमतिमा केन्द्रीय समिति चयन गर्ने भन्दै आइतबार १ बजेसम्मका लागि बन्दसत्र स्थगित गरिएको छ। त्यससँगै निर्वाचन आयोगले निर्वाचनको नयाँ कार्यतालिका सार्वजनिक गरेको हो।
संशोधित कार्यतालिकामा आइतबार २ बजेदेखि ३:३० बजेसम्म मनोनयन दर्ता, ३:४० मा मनोनयन दर्ता गरेका उम्मेदवारहरुको सूची प्रकाशन, ४ बजेसम्म उम्मेदवारमाथि दाबी विरोध, ४:१० बजेसम्म दावी विरोधमा परेका उजुरीको सूचना प्रकाशन, ४:१० बजेसम्म उजुरीमाथि छानविन र निर्णय, ४:४० बजे पुन: नामावली प्रकाशन, ५:३० बजेसम्म उम्मेदवारी फिर्ता, ५:४५ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने उल्लेख छ।
यसैगरी, आइतबार साँझ ६:२५ देखि १०:२५ सम्म मतदानको समय तोकिएको छ। मतदान सकिएलगत्तै मतगणना सुरु गरिने उल्लेख छ।
यद्यपी सहमतिमै केन्द्रीय सदस्य चयन गर्ने प्रयास भइरहेको माओवादीले जनाएको छ।