नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी चुनावपछि पार्टीको विशेष महाधिवेशन गर्ने बताएका छन्।
शुक्रबार पार्टीको महाधिवेशनस्थल कमलादीबाट निस्कने क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले संगठनको रूपान्तरण र विचारलाई विकसित गर्नका लागि चुनावपछि विशेष महाधिवेशन आवश्यक रहेको बताए।
जारी महाधिवेशनले नै सबै कुरा पूर्ण नहुने भन्दै उनले वैचारिक विकासको भने सुरूआत भएको बताए।
चुनावपछि विशेष अधिवेशन गरेर विचारलाई अझ विकसित गर्ने उनले बताए।
उनले भने, ‘आज प्रतिवेदन जोडदार ढंगले पारित भयो। भोलि विधान पारित हुन्छ। केन्द्रीय समिति पनि भोलि नै निर्वाचित हुन्छ। फरक मत समेटियो। एउटा फरक मतलाई सम्मान गर्ने भनियो। अरू सबै समेटियो। विशेष महाधिवेशन भनेको संगठनको रूपान्तरण गर्नलाई र विचारलाई पनि अझ विकसित गर्नको लागि हामीले चुनावपछि एउटा अधिवेशन त गर्नुपर्छ। यो नै टुंगियो, यो अब सबै पूर्ण भयो भन्ने हाम्रो भनाइ छैन। एउटा ठूलो ऐतिहासिक सुरूवात वैचारिक विकासको यहाँबाट भयो। अब चुनावपछि हामी विशेष अधिवेशन गरेर अझ त्यसलाई विकसित गर्ने।’
उनले आठौं राष्ट्रिय महाधिवेशन सभ्य र भव्य रूपमा अगाडि बढिरहेको बताए।
शनिबार विधान पारित हुने र केन्द्रीय कमिटी पनि निर्वाचित हुने उनले स्पष्ट पारे।