त्रिभुवन विश्वविद्यालयको इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका एक जना उपप्राध्यापकले नेपाली कांग्रेसको राजनीति गर्न जागिर छाडेका छन्।
सिन्धुपाल्चोक कांग्रेस सभापति लड्न त्रिविका उपप्राध्यापक ५३ वर्षीय डा. प्रेमध्वज लामाले जागिर छाडेका हुन्।
लामाले शुक्रबार विभागमा राजीनामा पत्र बुझाएका छन्।
कांग्रेस सिन्धुपाल्चोकले यही पुस २७ मा जिल्ला अधिवेशन गर्दैछ। लामा यसपालि सिन्धुपाल्चोकबाट महाधिवेशन प्रतिनिधिसमेत भएका थिए।
उनले पूर्वसञ्चार मन्त्री मोहनबहादुर बस्नेतपछि धेरै मत ल्याएर महाधिवेशन प्रतिनिधि जितेका थिए। महाधिवेशन प्रतिनिधि बनेपछि उनी जिल्ला सभापति बन्ने दौडमा छन्।
आफू अब सक्रिय राजनीतिमा होमिन लागेको लामाले सेतोपाटीलाई बताए।
‘म अब सक्रिय राजनीतिमा जान लागेको हुँ,’ उनले भने, ‘जिल्ला सभापति उम्मेदवार हुन्छु।’
उनले ०५८ सालदेखि त्रिवि केन्द्रीय विभागबाटै अध्यापन गराउन थालेका थिए। ०६४ मा करार हुँदै उनी ०७४ मा स्थायी भएका थिए।
‘म स्थायी भएको चार वर्ष भयो। परिवारका सदस्यहरूसँग सल्लाह गरेँ, अब पार्टीकै राजनीतिमा सक्रिय हुन्छु भनेर राजीनामा दिएको हुँ,’ लामाले भने।
लामा सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतनिकट छन्। उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का हुन्।
उनले आफू पहिले पनि राजनीतिमा रहेको बताए।
‘म नेविसंघ केन्द्रीय सदस्य भएर धनराज गुरूङ, गोविन्द भट्टराईको पालामा पनि काम गरेको हुँ,’ उनले भने, ‘बीचमा अध्यापनतिर लागेँ। म गाउँको मान्छे, साथीभाइहरू सँग सल्लाह गरेर अब फेरि राजनीतिमै लागेँ।’
उनी नेविसंघ सिन्धुपाल्चोक सभापति पनि थिए। ०४९ मै लामा पाटन क्याम्पसमा पनि नेविसंघबाट राजनीति गर्थे।
उनले समाजशास्त्र, संस्कृतिमा स्नातकोत्तर तथा पिएचडी पनि गरेका छन्।
अब सिन्धुपाल्चोक सभापतिका लागि शेखर कोइराला पक्षका बंशलाल तामाङ र देउवा पक्षका लामाबीच प्रतिस्पर्धा हुने भएको छ।
तामाङले क्षेत्र नम्बर दुईबाट महाधिवेशन प्रतिनिधिमा धेरै मत ल्याएका थिए। उनी इन्द्रावति गाउँपालिकाका अध्यक्ष हुन्। गाउँपालिका अध्यक्ष लड्न २०७४ मा अमेरिकाबाट नेपाल आएका थिए।
स्थानीय तहको चुनावमा उनले एमाले अध्यक्ष झम्क नेपाललाई पराजित गरेका थिए। तामाङ पूर्वजिविस सदस्यसमेत थिए। द्वन्द्वकालमा उनी अमेरिका पुगेका थिए।