कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा आफूले निष्पक्ष ढंगले काम गर्ने बताएका छन्।
नवनिर्वाचित सभापति देउवाले भोट आफूलाई हाल्यो हालेन नभनी सबैको सभापति बन्ने बताए।
‘म सबैलाई समावेश गरेर सबैको सभापति बनेर, पार्टीमा सबैको भावना समेटेर हिँड्छु,’ प्रमाण पत्र वितरण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै देउवाले भने।
देउवाले आफूलाई विश्वास गरेर सभापति निर्वाचित गराएकोमा खुसी व्यक्त गर्दै भोलिका दिनमा कांग्रेसलाई अगाडि बढाउने बताए।
‘हाम्रो पार्टी जनतासँग भिजेको पार्टी हो, स्थानीय र सबै चुनावमा पार्टी ठूलो बन्नुछ,’ उनले भने।
कांग्रेस समावेशी रहेको र भोलिका दिनमा अझै मतदाता थप गरी त्यसलाई सुनिश्चित गर्दै लानुपर्ने उनले बताए।
‘काङ्ग्रेस प्रजातान्त्रिक पार्टी छ र यस्तो प्रजातान्त्रिक अभ्यास गर्ने अरु पार्टी छ जस्तो लाग्दैन,’ देउवाले भने।
शनिबार पार्टीमा निर्वाचित सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाण पत्र दिइएको थियो। प्रमाण पत्र वितरणपछि केन्द्रीय समिति बैठक बस्ने बताइएको छ।