नेपाली कांग्रेस पदेश २ को पहिलो अधिवेशनमा सम्पन्न निर्वाचनमा पदाधिकारीको मतगणना सकिए पनि सदस्यहरुको मतगणना विषयमा विवाद चर्किएको छ।
उम्मेदवार र निर्वाचन समितीबीच गणनामा प्रतिनिधि राख्ने विषयमा सहमती हुन नसकेपछि प्रदेश सदस्यको गणना स्थगित भएको छ।
गएराति पदाधिकारीको मतगणना सम्पन्न भएपछि सदस्य पदका उम्मेदवारले आफूसहित दुइ दुई जना प्रतिनिधि राख्न पाउनुपर्ने निर्वाचन समितीसँग माग गरेका थिए। तर गणनास्थलमा भीड बढेपछि समस्या हुने भन्दै निर्वाचन समितिले उनीहरुले राखेको प्रस्ताव अस्वीकार गरेको थियो।
'विभिन्न कलष्टरमा सदस्य पदमा लगभग डेढ सय उम्मेदवार हुनुहुन्छ। सबै उम्मेदवारले दुई/दुई जना प्रतिनिधि राख्यो तीन सय हुन्छ। हाम्रो प्रतिनिधि पनि हुन्छ र हामी पनि हुन्छौं। साढे ४ सय भन्द बढी प्रतिनिधि राखेर गणना कुनै हालतमा सम्भव छैन्', निर्वाचन समितीका सदस्य विनय सिंहले सेतोपाटीसँग भने, 'हिजो राति अवरोध भएपछि हामीले यस विषयमा निर्णय गर्न सकेनौं। आजसम्म मैले १० वटा निर्वाचन गराएको छु त्यतीधेरै भिडभाड गरेर कतै गणना भएको छैन्। कानूनले भनेको छ अधिकार छ तर त्यो वातावरण मिल्दैन।'
सदस्य पदको मतगणनाबारे निर्णय गर्न उम्मेदवार र निर्वाचन समितीबीच १० बजे छलफल हुने सिंहले जानकारी दिए। 'हामीले ६ ठाउँमा मतगण्ना गर्छौं। एक ठाउँमा तपाईँहरुले सहमती गरेर तीन तीन जना गरि ६ जनाको प्रतिनिधि राख्नुस भनेका छौँ तर सहमती भएको छैन', उनले थपे।
महामन्त्री पदमा पुनः मतगणना गर्न माग गर्दै नरेश यादवले गरेको उजुरी विषयमा समेत निर्वाचन समितीले आजै निर्णय गर्ने उनले बताए।
गएराति सम्पन्न पदाधिकारीको मतगणनामा संस्थापन पक्षका कृष्ण प्रसाद यादवको प्यानलै विजयी भएका थियो।
महामन्त्री पदमा शेखर कोइराला र विमलेन्द्र निधिको प्यानेलबाट उम्मेदवार रहेका यादव विजयी भएको निर्वाचन समितीले घोषणा गरेको थियो। तर केही बेरपछि गल्ती भएको बताउँदै संस्थापन पक्षका वृहस्पति कृष्ण श्रेष्ठले १३ मत बढी ल्याएर विजयी भएको घोषणा गरेको थियो।
श्रेष्ठ महामन्त्रीमा विजयी भएको घोषणा पछि निधि-कोइराला पक्षले नारावाजी गरेपछि मतगणना स्थलमा विवाद भएको थियो।
केहीबेरपछि रातिमै उनले पुन : मतगननाको माग गर्दै निर्वाचन समितिमा उजुरी गरेको सदस्य विनय सिंहले बताए।