नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित सभापतिसहित १३ जना पदाधिकारी र १२१ जना केन्द्रीय सदस्यलाई शनिबार निर्वाचित भएको प्रमाण पत्र दिने भएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले सभापतिसहित निर्वाचित सबैलाई प्रमाण पत्र दिन लागेको हो।
पार्टी केन्द्रीय कार्यालयका सचिव केशव रिजालका अनुसार शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा निर्वाचितहरू सबैलाई प्रमाण पत्र दिने कार्यक्रम रहेको छ।
कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यीय हुन्छ। १३४ जना निर्वाचनबाट र ३३ जना मनोनित हुन्छन्। सभापति शेरबहादुर देउवाले समावेशी सिद्धान्तका आधारमा ३३ जनालाई केन्द्रीय सदस्य मनोनित गर्न पाउँछन्।
केन्द्रीय समितिमा सभापति देउवा पक्षमा दुई तिहाइ छ। नेता शेखर कोइराला पक्षले भने थोरै मात्रै पदाधिकारी र केन्द्रीय सदस्य जितेका छन्।