नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि बिहीबार बिहान ८ बजेदेखि मतदान हुने कार्यतालिका थियो। तर कडा सुरक्षाकाबीच जनकपुरस्थित गोपाल धर्मशालामा बिहान ९ बजेपछि मात्र मतदान सुरू भयो।
केही मिनेट नबित्दै भोट खसाल्न लाइनमा लागेका अधिकांश मतदाताको मोबाइलमा ‘एलटी अलर्ट’ बाट सभापति शेरबहादुर देउवाको नाममा म्यासेज आयो।
‘जय नेपाल प्रदेश अधिवेशनमा सभापति रामसरोज यादव प्यानललाई आफ्नो अमूल्य मत दिई विजयी बनाउनु हुन हार्दिक अनुरोध। –शेरबहादुर देउवा।,’ म्यासेजमा भनिएको थियो।
कांग्रेस सभापति देउवाको नाममा आएको उक्त म्यासेज हेर्नसाथ मतदाताहरू झस्किए। किनकि उनको समूहबाट सभापतिका उम्मेदवार कृष्णप्रसाद यादवको छुट्टै प्यानल छ। म्यासेजमा मत मागिएको प्यानल देउवा समूहका प्रतिद्वन्द्वी हुन्।
देउवाको नामबाट रामसरोज यादवको प्यानललाई मत दिन मतदातालाई म्यासेज सर्कुलेट गरिएको थाहा पाएपछि सभापतिका उम्मेदवार कृष्ण यादव आक्रोशित भए। उनले आफ्ना समूहका नेताहरूलाई फोन गरी यसबारे जानकारी गराए। त्यतिबेलै यस्तो अफवाह फैलाउनेलाई कारबाही गर्न आफूले प्रहरीलाई मौखिक उजुरी गरेको सभापतिका उम्मेदवार कृष्णप्रसाद यादवले बताए।
‘शेरबहादुरको पक्षबाट मेरो प्यानलको उम्मेदवार रहेको सबैलाई थाहा छ। हार मानसिकताको उदण्डताले मेरा प्रतिद्वन्द्वीले षडयन्त्र गरी यस्तो म्यासेज सर्कुलेट गरियो,’ उनले भने, ‘मतदाता एकदमै कन्सर्न छन्। उनीहरू यस्तो अफवाहका पछि लाग्दैनन्।’
मतदातालाई भ्रममा पार्न यस्तो सन्देश प्रवाह गर्ने व्यक्तिलाई कारबाही गर्न प्रहरी खटिएको उनले जानकारी दिए।
भ्रामक म्यासेज पठाउने व्यक्तिको पहिचान भइसकेको र उनको खोजीकार्य जारी रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले बताए।
ती व्यक्ति जनकपुर वरिपरिकै रहेको उनले जानकारी दिए।
पहिलोपटक भइरहेको कांग्रेसको प्रदेश अधिवेशनमा ६७ पदका लागि अहिले मतदान जारी छ। बिहीबार साँझ पौने सात बजेसम्म झण्डै ८० प्रतिशत मतदान भएको निर्वाचन समितिका सदस्य विनय सिंहले जानकारी दिए।
निर्वाचन तालिका अनुसार साँझ साढे ६ बजेसम्म मतदानको अन्तिम समय तोकिएको थियो। तर मतदाता अझै लाइनमा लागेकाले राति ८ बजेसम्म मतदानको समय थप गरिएको उनले बताए।
प्रदेश अधिवेशनका लागि १ हजार ९ सय ८० जना मतदाता रहेका छन्।
प्रदेशको सभापति पदमा पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट कृष्णप्रसाद यादव र शेखर कोइरालाको समर्थनमा विमलेन्द्र निधिनिकट रामसरोज यादवले उम्मेदवारी दिएका छन्।