२०७२ सालमा सम्पन्न कांग्रेसको १३औं महाधिवेशनमा शेखर कोइराला महामन्त्रीमा लड्न चाहन्थे। तर उनका भाइ तथा बिपीपुत्र शशांकले अडान नछाडेपछि उनी पछाडि हटे।
शेखर केन्द्रीय सदस्यमात्र लडे र सबैभन्दा धेरै मत ल्याएर केन्द्रीय सदस्य चुनिए।
त्यसले शेखरको आत्मविश्वास जगायो। उनले १४औं महाधिवेशनमा सभापति लड्छु भन्ने निश्चय गरे।
देउवालाई चुनौती दिन इतर समूहको सभापति बन्न उनलाई पहाडभन्दा ठूलो चुनौती थियो। पार्टीभित्र देउवाइतर समूहमा उनीभन्दा सिनियर चार जना नेता थिए: रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र शशांक कोइराला।
यी चारै जना कांग्रेसको पदाधिकारी भइसकेका थिए। पौडेल उपसभापति, सिंह महामन्त्री र उपसभापति, सिटौला र शशांक महामन्त्री भैसकेका थिए, जबकी शेखर केन्द्रीय सदस्यमात्र।
कांग्रेसको १३औं महाधिवेशन सकिँदा यी चार जनामध्ये कसैले पनि शेखरलाई १४औं महाधिवेशमा शेरबहादुर देउवाको प्रतिद्वन्द्वीका रूपमा कल्पनासम्म पनि गर्थेनन्।
शेखरलाई भने तेह्रौं महाधिवेशनमा केन्द्रीय सदस्यमध्ये सबभन्दा धेरै भोट ल्याएको कुराले भरपुर आत्मविश्वास दियो।
‘म लोकप्रिय रहेछु, कार्यकर्ताले मलाई रूचाउने रहेछन्’ भन्ने थाहा पाएपछि उनले मनमनै अर्को महाधिवेशनमा सभापति लड्ने निश्चय गरे।
उनलाई प्रेरित गर्ने दोस्रो कुरा पनि थियो- भाइ शशांकले महामन्त्री राम्ररी चलाउन सक्दैन, त्यसैले १४औं महाधिवेशनमा ऊ सभापतिको बलियो दाबेदार बन्न सक्दैन। त्यसले पनि आफ्ना लागि 'स्पेश' बन्छ भन्नेमा उनी ढुक्क थिए।
तेह्रौं महाधिवेशनमै भाइ शशांकलाई मनाउन उनले धेरै प्रयत्न गरेका थिए। महामन्त्रीका रूपमा पार्टी चलाउन धेरै मिहेनत गर्नुपर्ने, निरन्तर देशभरि डुल्नुपर्ने, हरदम सक्रिय रहनुपर्ने भएकाले त्यो काम तिम्रो स्वाभावअनुसार मिल्दैन भनेर उनले शशांकलाई सम्झाए। महामन्त्रीका रूपमा 'सानोबुवा' गिरिजाप्रसाद कोइरालाको सक्रियता सम्झाए।
सुरूमा शशांकले चुप लागेर शेखरका कुरा सुने। महाधिवेशन नजिक भएपछि एकदिन उनले भनिदिए- मैले महामन्त्रीमा उठ्ने निधो गरें।
शेखर पछि हटे। तर त्यो बेलादेखि नै उनी एउटा कुरामा ढुक्क थिए- महामन्त्रीको पाँच वर्षीय कार्यकालमा शशांकको अक्षमता बाहिर आउँछ। त्यसपछि मलाई सजिलो हुनेछ।
शेखरले राजनीति गिरिजाप्रसादबाटै सिकेका हुन्। गिरिजालाई राजनीतिमा सघाउन शेखरकी आमा नोना कोइराला पनि उनीसँगै बस्थिन्। पति केशव कोइरालाको मृत्युपछि नोनाले विराटनगरको कोइराला निवासमै बसेर नेपालको अग्रणी राजनीतिक परिवार सम्हालेकी हुन्। गिरिजाप्रसाद प्रधानमन्त्री बनेर बालुवाटार बस्दा पनि नोना सँगै बसिन्। प्रधानमन्त्री हुँदा वा नहुँदा पनि राजनीतिमा गिरिजाप्रसादको एकनासको सक्रियता शेखरले नजिकबाट देखेका थिए।
तेह्रौं महाधिवेशन सकिएलगत्तै गिरिजाको सक्रियताको पदचाप शेखरले पछ्याए। उनी मधेश, पहाड, हिमालका ७७ वटै जिल्ला घुमे। धेरै ठाउँ दोहोर्याएर/तेहर्याएर पुगे। पछिल्लो पाँच वर्षमा सायदै कुनै नेता यति धेरै जिल्ला घुमेको छ, यति धेरै कार्यकर्ता भेटेको छ।
सहरमा नेताहरूबीचको मोलाहिजा छाडेर शेखर गाउँ पस्नुको कारण एउटै थियो- काठमाडौंमा कांग्रेस शीर्ष नेताहरू उनलाई 'जुनियर' भन्थे। काठमाडौंका कोठामा छलफल गरेर कांग्रेस सभापतिमा उनको दाबेदारी बलियो हुन्न थियो।
शेखर अरूभन्दा धैरै पछि सक्रिय राजनीतिमा आएका हुन्। विराटनगरमा २०४८ सालदेखि नै सानोबुवा गिरिजाको निर्वाचन क्षेत्रमा खटिए पनि उनी प्रत्यक्ष राजनीतिमा होमिएनन्। धरानमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन भएपछि गिरिजाले त्यसको नेतृत्व गर्न शेखरलाई पठाए। उनले उपकुलपतिका रूपमा दुई कार्यकाल नेतृत्व गरे। त्यसपछि गिरिजाप्रसादले एघारौं महाधिवेशनमा आफू तेस्रो पटक सभापति निर्वाचित भएपछि उनलाई २०६२ सालमा केन्द्रीय सदस्य नियुक्त गरे।
राजाले शासन आफ्नो हातमा लिएपछि गिरिजाप्रसादले भारतमा बसेका माओवादीसँग प्रारम्भिक सम्पर्क बढाउन शेखरलाई दिल्ली पठाए। राजनीतिमा उनको केन्द्रीय भूमिका त्यो बेलामात्र सुरू भएको हो।
पार्टी राजनीतिमा त उनले भर्खरै सुरू गर्दै थिए। नेपाली कांग्रेसजस्तो 'हाइयार्की' मान्ने 'कन्जर्भेटिभ' पार्टीमा सभापतिका आकांक्षी अरू नेताले शेखरलाई प्रतिस्पर्धीका रूपमा गम्भीरतापूर्वक लिने कुरै थिएन। त्यसैले सभापतिमा बलियो प्रतिस्पर्धीको हैसियत आर्जन गर्न शेखर तेह्रौं महाधिवेशन सकिनेबित्तिकै जिल्ला घुम्न सुरू गरे। कोरोना संक्रमण सुरू भएका केही महिना पनि उनी जिल्ला दौडमा व्यस्त थिए।
पार्टी महाधिवेशनमा सभापति जिताउने नेताहरूले होइन, जिल्ला-जिल्लाबाट आउने महाधिवेशन प्रतिनिधिले हो भन्ने उनले ठाने। तल कार्यकर्तामाझ आफ्नो स्वीकार्यता बढ्यो भने, माथिका नेताले आफूलाई मान्न करै लाग्छ भन्ने उनको रणनीति थियो।
त्यो रणनीतिमा जसरी उनी पाँच वर्ष निरन्तर सक्रिय रहे, त्यसले उनलाई सभापतिको एउटा प्रमुख दाबेदारका रूपमा स्थापित गर्यो।
शेखरको दाबेदारी बलियो बन्नुमा शंशाक कोइरालाको 'हात' छ। सभापतिको दौडमा रहेका कुनै पनि आकांक्षी नेताको जति राजनीतिक सुझबुझ र सक्रियता शशांकमा हुन्थ्यो भने चौधौं महाधिवेशनमा सभापतिको कुर्सीमा कसैले आँखा लगाउन सक्थेन। बा बिपीको 'लिगेसी'मा उनको आफ्नो क्षमता मिसिँदा सभापति बन्न उनलाई देउवा वा अरू कसैले रोक्न सक्ने थिएन।
तर राष्ट्रिय राजनीतिमा आएका १५ वर्ष उनले आफ्नो नाकामीमात्र प्रमाणित गरे। उनी तीन पटक सांसद निर्वाचित भइसकेका छन्। पाँच वर्ष पार्टीको निर्वाचित महामन्त्री भए। तर न उनी संसदमा देखिए न त पार्टीमा। उनी कहीँ थिएनन्, गुमनाम थिए।
कांग्रेसमा कोइराला परिवारको लिगेसी मान्ने कार्यकर्ताको ठूलो पंक्ति छ। त्यसले अघिल्लो महाधिवेशनमा शशांकलाई सजिलै महामन्त्रीमा जिताएको थियो। त्यो पंक्ति विस्तारै शेखरतिर आकर्षित हुन थाल्यो।
शेखरले कांग्रेसका युवा नेताहरूलाई पनि आकर्षित गरे। त्यसको दुइटा कारण थिए।
पहिलो, उनले ‘म एक पटकमात्र सभापति बन्ने हो र त्यसपछि युवा पुस्तालाई नेतृत्वमा छाडिदिने हो’ भने।
उनले प्रधानमन्त्री पनि पार्टीको अर्को कुनै नेतालाई बनाउन आफू तयार रहेको बताएका थिए। प्रकाशमान सिंहलाई त उनले भेटेरै संसदीय दलको नेता र पार्टीले जितेमा प्रधानमन्त्री बन्न र दुई जना मिलेर जान आग्रह गरेका थिए।
दोस्रो, उनी सत्तामा कहिल्यै बसेका छैनन्, त्यसैले उनको छवि तुलनात्मक रूपमा बेदाग छ। उनलाई सभापति बनाएर आम निर्वाचनमा जाँदा मतदातालाई आकर्षित गर्न सजिलो हुन्छ भन्ने मत युवा नेताहरूको थियो। गगन थापा, चन्द्र भण्डारी, धनराज गुरूङ, बद्री पाण्डेलगायत नेताहरू पहिलेदेखि नै उनीप्रति आकर्षित थिए र भेटघाट गर्ने, सल्लाह गर्ने धैरै अघिदेखि सुरू भएको थियो।
चौधौं महाधिवेशनको संघारमा आइपुग्दा शेखर देउवाइतर समूहको सभापतिको प्रमुख दाबेदारमात्र बनेनन्, सभापतिका अरू उम्मेदवारको डाहाको विषय पनि बने। अरू आकांक्षीहरू शेखरसँग तर्सिन थाले। सबैले लगभग अनुमान गरिसकेका थिए, महाधिवेशन प्रतिनिधिहरू छानिएर आउँदा धेरैको रोजाइ देउवाइतर समूहबाट शेखर हुनेछन्।
त्यसले उनीहरूलाई थप असुरक्षित बनायो। आफू उम्मेदवार बन्छु भन्नेमा झनै हठी बनायो। महाधिवेशनअघि नै सिटौलाले देउवासँग ‘डिल’ गरेर संस्थापनमा आफ्नो स्थान बनाए। जिल्ला र प्रदेश महाधिवेशनमा त सिटौलाले देउवासँग गठबन्धन नै गरे।
पौडेल, सिंह र शशांकले आफैं सभापति बन्नु पर्ने हठ छाडेनन्। पौडेलले ‘तिमीहरू मिले म छाडिदिन्छु तर नमिले म नै सभापतिको उम्मेदवार’ भनिरहे। शंशाकले मैलेमात्र देउवालाई हराउँछु भन्ने जिद्दी कसे। सिंहले ‘म शेखर र शंशाकभन्दा सिनियर’ भएकाले सभापतिको उम्मेदवार आफैंलाई बनाउनु पर्ने अड्डी कसे।
यीमध्ये कसैले पनि जिल्ला-जिल्लाबाट चुनिएर आएका महाधिवेशन प्रतिनिधिलाई सोधौं, उनीहरू के भन्छन् भन्न सकेनन्। किनभने शेखरले आत्मविश्वासका साथ ‘जिल्लाबाट चुनिएर आएका साथीहरूले के भन्नुहुन्छ, त्यही गरौं’ भनिरहेका थिए।
उम्मेदवारी दिने बेलासम्म पनि कुरा नमिलेर किचलो बढ्दै गएपछि शेखरले त्यसो भए सबैले पौडेललाई छोडिदिउँ किनकी देउवालाई हराउनु जरूरी छ भने। सिंहले आफूले कसैलाई नछाड्ने, सबैले आफूलाई छाड्नु पर्ने जिद्दी गरेपछि शेखरले ‘त्यसो भए म पनि लड्छु’ भने।
महाधिवेशनमा सभापतिका लागि भएको पहिलो चरणको प्रतिस्पर्धामा शेखरले दोस्रो धेरै मत ल्याए। देउवाले ४८ प्रतिशत मत ल्याउँदा उनले ३८ प्रतिशत मत पाए। प्रतिस्पर्धामा उत्रिएका सिंहले ८ र देउवा समूहकै विमलेन्द्र निधिले ६ प्रतिशतभन्दा कम मत ल्याए।
१३औं महाधिवेशन पछिका पाँचै वर्ष पौडेल, सिटौला, सिंह र शशांकले देउवाबाट पार्टी चल्दैन र उनलाई १४औं महाधिवेशनमा विदा गर्नैपर्छ भनेर तर्क गरेका थिए। ‘कांग्रेसलाई जोगाउने हो भने त्यो जरूरी छ’ भने। निधिले पनि देउवाबाट पार्टी नचल्ने भनेर उम्मेदवारी दिएका थिए।
जब पहिलो चरणको चुनाव सकियो र दोस्रो चरणको चुनावको अवसर आयो, जब देउवालाई हराउने मौका साँच्चै आयो, सबै जना पछि हटे। सिटौला पहिले नै देउवासँग मिलिसकेका थिए। सिंह र निधिले पनि उनलाई समर्थनमात्र गरेरनन्, देउवासँगै बसेर उनको पक्षमा भोट मागे।
रामचन्द्रले देउवालाई भोट नदिनू वा शेखरलाई दिनू सम्म भनेनन्। आफू पनि मत हाल्न गएनन्। शंशाकले देउवालाई नै भोट दिए वा के गरे रहस्यमय नै छ। उनले पनि देउवाको विरोध गरेनन् बरू चुनावको दिन बालुवाटारमा देखिए। शेखरलाई मत त माग्ने कुरै भएनन्। अन्तत: देउवाइतर खेमाका सबै नेताले या उनैलाई समर्थन गरे या चुप बसे।
अन्तिममा शेखरमात्रै एउटा नेता भए जसले देउवालाई चुनौती दिए। देउवालाई हटाउनु पर्छ भन्नेमा उनीमात्र दृढ देखिए।
त्यही दृढताको परिणामस्वरूप चार जनालाई पन्छाएर शेखरनै अब देउवाइतर समूहका नेतामा उदाएका छन्। र, उनलाई बलियो साथ दिएका छन् युवा नेताहरूले।
देउवा, सिंह, सिटौला, निधि एक ठाउँ र युवाहरूको साथ लिएर शेखर एक ठाँउ उभिँदा महाधिवेशनमा उनले ४० प्रतिशत मत ल्याएका छन्।
आगामी १५ औं महाधिवेशनमा कोइराला सभापतिको मैदानमा हुने छैनन्।
कोइरालाले अर्को महाधिवेशनमा सभापति नलड्ने भनेर सार्वजनिक रूपमा भनेका छन्, युवा नेताहरूको आफ्नो टिमलाई पनि त्यही वचन दिएका छन्। फेरि सभापति लड्न उमेरले पनि उनलाई साथ दिन्न, उनी ७० कटिसकेका छन्।
अब उनले आगामी चार वर्ष पार्टीमा देउवालाई ‘चेक’ गर्ने कोइराला समूहको नेतृत्व गर्नेछन् र आगामी महाधिवेशनमा त्यो समूहको लिगेसी सम्भवत: सो समूहका अग्रणी युवा नेता गगन थापाको टिमलाई हस्तान्तरण गरेर अभिभावकको भूमिका ग्रहण गर्नेछन्।