नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज मतदान सुरू हुने भएको छ।
सभापति पदमा पाँच जनाबीच प्रतिस्पर्धा हुने भएको छ।
शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधि र कल्याण गुरूङ सभापति पदका उम्मेदवार छन्।
आज बिहान ८ बजेदेखि मतदान सुरू हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।
मतदानका लागि प्रदर्शनीमार्गमा तीन मतदान स्थल तोकिएका छन्।
भृकुटीमण्डप, नेपाल पुलिस क्लव र राष्ट्रिय सभा गृहमा मतदान स्थल छ भने मत खसाल्नका लागि एक हजार एक सय बुथ तयार गरिएका छन्।
महाधिवेशनमा ४७४३ जना प्रतिनिधि छन्। एक महाधिवेशन प्रतिनिधिलाई मतदान गर्न करिब ४५ मिनेटसम्म लाग्ने अनुमान छ। २९ मतपत्रमा मत दिनुपर्ने भएकोले समय लाग्ने देखिएको छ।
कांग्रेसले विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको छैन। कागजी मतपत्र छन्। १२१ केन्द्रीय सदस्य र १३ पदाधिकारीका लागि निर्वाचन हुन गइरहेको छ।
मतदान सुरू भएको करिब १० घन्टामा मतदान सकिने निर्वाचन समितिको अनुमान छ। मतदान सकिएपछि सभापति पदका लागि भने गणना सुरू हुनेछ।
उपसभापतिलगायत अन्य पदका लागि भने मतबाकस पार्टी केन्द्रीय कार्यालय सानेपामा लगेर शिलबन्दी गरेर राख्ने तयारी छ।
सभापति पदको मतपरिणाम आइसकेपछि कुनै उम्मेदवारले ५० प्रतिशत मत कटाएमा मात्रै अरू पदका लागि भएको मतदानको मतगणना सुरू हुनेछ। कसैले पनि ५० प्रतिशत मत नकटाएमा सभापति पदमा भने फेरि मतदान हुने विधानको व्यवस्था छ।