प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औं महाधिवेशनबाट आफू सभापति चुनिएको खण्डमा सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने बताएका छन्।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले आफू सभापति चुनिएमा सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने बताएका हुन्।
‘तपाईहरुले देख्नुभयो, ओलीको सरकार हुँदा कस्तो हालत थियो, अहिले कति हलुका भएको छ। त्यसैले अहिलेको बेला यो कांग्रेस पार्टी जित्नु जरूरी छ। कांग्रेस पार्टी जितेको खण्डमा मात्रै अगाडि बढ्न सक्छ’, उनले अगाडि भने, ‘त्यसका लागि यो महाधिवेशन अत्यधिक महत्वपूर्ण छ। यो महाधिवेशनमा मैले पनि उम्मेदवारी दिएको तपाईँहरूलाई थाहा नै छ। अत्यधिक बहुमतले मलाई जिताउनुभयो भने अवश्य नै म सम्पूर्ण मागहरु पूरा गर्नेछु।’
प्रधानमन्त्री देउवाले सभापति हारेको खण्डमा नैतिकताले पनि प्रधानमन्त्रीमा बस्न नमिल्ने भन्ने कुरा आइरहेकोले सभापति जित्नैपर्ने आवश्यकता रहेको उनले बताए।
‘म पार्टी सभापति भएको खण्डमा यो सरकार टिकिरहनेछ। राष्ट्रिय चुनावसम्मका लागि। त्यसैले अहिले पार्टी सभापति हारेको खण्डमा शेरबहादुरको नैतिकताले प्रधानमन्त्री बस्न नै पाइँदैन भनेर होहल्ला गर्नेवाला छन् सबैले। त्यसकारण पनि महाधिवेशनमा सभापति जित्नु मेरो आवश्यक छ’, उनले भने, ‘पार्टी सभापति जितेन भने पार्टी सभापति नजित्नेले के देश चलाउँछ भन्छ, के प्रधानमन्त्री बन्न सक्छ भन्छन्।’
उनले यो आफ्नो अन्तिम बेला भएको र सभापति हारेमा सभापति नजित्नेले के देश चलाउँछ भन्ने प्रश्न उठाउने भएकोले पनि जित्नैपर्ने दबाव रहेको बताए।
अहिलेको बेला, मैले कसैलाई मेरो खिलाफ उठेकोमा मेरो बिरोध होइन। तर मेरो यो अन्तिम बेला हो। म ओलीलाई हटाएर प्रधानमन्त्री बन्न सफल भएको छु। यदि म जितेको खण्डमा मात्रै यो पार्टीलाई नेपालमा पूरा सबै पार्टीहरुलाई तलदेखि माथिसम्म मिलाएर सबै दलहरुको सरकार बनाउन सक्नेछु।’
प्रधानमन्त्री देउवाले केपी शर्मा ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्न सफल भएको र पार्टी सभापतिमा जिते मात्रै सबै दलहरुलाई लिएर स्थानीय तहदेखि केन्द्रिय तहसम्मको सरकार बनाउने बताए।
‘मैले पार्टी सभापति जित्नु आवश्यक छ। नत्र भोलिपल्टै शेरबहादुर त हार्यो, हार्नेलाई के बनाउने भनेर प्रधानमन्त्रीबाट हटाउनेछन्। प्रधानमन्त्री हटेपछि के अवस्था हुन्छ थाहा छ? अघिल्लो पटक के भएको थियो हालत? त्यसकारण प्रधानमन्त्री नेपाली काँग्रेसको हुनु आवश्यक छ । मैले हुन आवश्यक छ।’
उनले आफूलाई महाधिवेशनमा जिताए सबैका माग पूरा गर्ने र नेपाली कांग्रेसलाई कुनै व्यक्तिको नभइ सबैको पार्टी बनाउने प्रतिवद्धतासमेत जनाए। प्रधानमन्त्री देउवाले राष्ट्रमा प्रजातन्त्र भएमात्रै आफ्ना अधिकारको लागि लड्न सकिने भन्दै प्रजातन्त्र बिनाको देश कल्पना गर्न नसकिने बताए।
‘यो संविधान नेपाली जनताले बनाएको संविधान हो । यो संविधानले सम्पूर्ण देशका दाजुभाइ, दिदिबहिनी हरेक वर्ग, लिङ्गलगायत मधेशी, महिला, दलित, जनजाती, आदिवासी, अल्पसंख्यक समुदाय समेट्ने किसिमको संविधान बनेको छ’, उनले भने।
प्रधानमन्त्री देउवाले नेपालको संविधान बचाउन, आदिवासी, जनजातीको हक अधिकार सुनिश्चित गर्न, महिलाहरुलाई उचित अधिकार प्रदान गर्न आवश्यक रहेको बताए।
‘यो देशमा भएका जातजातीहरुलाई अटाएर बनेको संविधान छ। यो संविधानको सफल कार्यान्वयन भइरहेको छ। अझ अगाडि बढ्नेछ। त्यसैअन्तर्गत हाम्रो पार्टीले पनि आदिवासी, जनजाती, लगायतका सबैभन्दा पछाडि परेको कर्णाली, दलित, जनजाती, मुस्लिम, महिला सबैलाई हामीले आरक्षण दिएका छौं। हाम्रो नेपालमा ३३ प्रतिशत महिलाहरुलाई आरक्षण दिएका छौं। जनजाती, आदिवासीलाई आरक्षण दिएका छौं।’
प्रधानमन्त्री देउवाले प्रजातन्त्र आजको आवश्यक्ता भएको उल्लेख गरे। उनले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारमा भएको कोलाहल आफू नेतृत्वमा पुगेपछि शान्त भएको बताए।
नेपाली कांग्रेसले पनि आफ्नो पार्टीलाई सबैको पार्टी बनाएको छ । सबैको पार्टी बन्नमा सहयोग गरेको छ । भोलिका दिनमा यो सबैको पार्टीका रुपमा जो हामीले पार्टीलाई अघि बढाएका छौँ । यो पार्टीलाई कुनै एक व्यक्तिको नभइ सबैको पार्टी बनाउने छौं। तपाईहरु अधिकारका लागि पनि पार्टी भित्रै लड्नुस्’, उनले भने, ‘अर्कोतिर राष्ट्रमा प्रजातन्त्र भएको खण्डमा मात्रै आफ्ना अधिकारहरुको लागि लड्न सकिन्छ । प्रजातन्त्र नै भएन भने के हुन्छ अवस्था ? त्यसकारण प्रजातन्त्र आजको आवश्यक्ता हो । जरुरी हो।’
प्रधानमन्त्री देउवाले अहिलेको समयमा कांग्रेस पार्टीले जित्न जरुरी रहेको र आफ्नो पार्टीले जितेको खण्डमा मात्रै देश अघि बढ्न सक्ने बताए।