नेपाली कांग्रेसले नयाँ नेतृत्व छान्न सोमबार बिहान ८ बजेदेखि मतदान सुरू गर्ने भएको छ।
१४ औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि ५ जना मैदानमा छन्। गोरखाका युवराज न्यौपानेले सभापतिमा दिएको उम्मेदवारी फिर्ता लिइसकेका छन्। न्यौपानेले शेखर कोइराला समूहलाई समर्थन गर्दै आज उम्मेदवारी फिर्ता लिएका हुन्।
अब शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधि र कल्याण गुरूङबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ।
कांग्रेसले भृकुटीमण्डप, राष्ट्रिय सभागृह र नेपाल पुलिस क्लबमा मतदान स्थल तोकेको छ। कांग्रेसले कागजकै मतपत्र बनाएको छ भने मत खसाल्ने बाकसका रूपमा पानी ट्यांकीको प्रयोग गरिने भएको छ।
कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि छन्। एक महाधिवेशन प्रतिनिधिले २९ मतपत्रमा मतदान गर्नुपर्ने भएकाले करिब एक घन्टासम्म मत खसाल्न समय लाग्नेछ। मत खसाल्ने ठाउँ २९ वटा छ। करिब १० घन्टामा मत खसालेर सक्ने अनुमान छ।
कांग्रेसले मतदान सकिएलगत्तै मतगणना गरिने बताएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य तेज रावलले सबैभन्दा पहिले सभापति पदका लागि मतगणना गरिने बताए।
‘मतदान सकिएलगत्तै सभापति पदका लागि खसेको मत गन्छौं,’ उनले सेतोपाटीसँग भने, ‘सभापतिका उम्मेदवारमध्ये ५० प्रतिशतभन्दा बढी कसैको पनि आएन भने फेरि मतदान प्रक्रिया चल्छ।’
कांग्रेसमा सभापति पदमा दुई जनाभन्दा बढी उम्मेदवार भएमा ५० प्रतिशतभन्दा बढी मत ल्याउनेले मात्रै सभापति जित्ने व्यवस्था छ। उम्मेदवारमध्ये कसैको पनि करिब ५१ प्रतिशत नआएमा बढी मत ल्याएका दुई उम्मेदवारबीच फेरि चुनाव हुन्छ।
०७२ सालमा भएको १३ औं महाधिवेशनमा सभापति पदका उम्मेदवारहरू शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला कसैले पनि पहिलो चरणमा ५१ प्रतिशत मत ल्याएका थिएनन्। त्यसबेला दोस्रो चरणमा भएको मतदानमा सिटौला पक्षले देउवालाई समर्थन गरेको थियो।
उपसभापति, महामन्त्रीलगायत पदमा खसेको मत सहितको बाकस भने शिलबन्दी गरेर पार्टी कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राख्ने तयारी छ।
सभापतिको मतगणना राष्ट्रिय सभा गृहमै गरिनेछ भने अन्य पदको मतगणना भने पार्टी कार्यालयमै गर्ने गरी व्यवस्था मिलाइएको छ।
‘सभापतिको मतगणना सकेर कसले जित्यो भन्ने घोषणा भइसकेपछि मात्रै अन्य पदको मतगणना गर्ने हो। सभापति फाइनल नगर्दै अरू पदको मतगणना गर्यो भने फेरि सभापतिमा चुनाव गर्नुपर्दा प्रभाव पर्न सक्छ भनेर हो,’ रावलले भने।
कांग्रेसमा सभापतिसहित पदाधिकारी १३ जना निर्वाचित हुन्छन्। १२१ जना केन्द्रीय सदस्यका लागि मतदान हुन गइरहेको छ। निर्वाचित सभापतिले ३३ जना केन्द्रीय सदस्य र निर्वाचित सदस्यमध्येबाट एक जना कोषाध्यक्ष पछि मनोनित गर्ने व्यवस्था छ।
कांग्रेसमा १३ औं महाधिवेशनमा ८६ जना केन्द्रीय सदस्य थिए। त्यसबेला पनि मतगणना सक्न १३ दिनसम्म लागेको थियो। यसपालि खुला केन्द्रीय सदस्य ३५ जनाका लागि चुनाव हुँदैछ। खुला केन्द्रीय सदस्यमा धेरै उम्मेदवार रहेकोले मतगणनामा गर्न झन् धेरै समय लाग्नेछ।
कांग्रेस निर्वाचन समितिका अनुसार कम्तीमा १० दिन मत गणना गर्न लाग्ने देखिएको छ।