नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि चितवनका १७ जनाले उम्मेदवारी दर्ता गरेका छन्।
खुला केन्द्रीय सदस्यमा २ जना, महिला खुलामा १ जना, दलित महिलामा २ जना, आदिवासी जनजाति खुलामा ४ जना, आदिवासी जनजाति महिलामा २ जना, खस आर्य खुलामा २, खस आर्य महिलामा ३ र थारु खुलामा १ जनाको उम्मेदवारी परेको छ।
खुला केन्द्रीय सदस्य ३५ जनाका लागि १ सय १० जनाको उम्मेदवारी परेकोमा चितवनका प्रा.डा.तीर्थराज खनियाँ र दिनेश कोइराला पनि छन्। खनिया त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति र कोइराला जेसिसका पूर्वकेन्द्रीय अध्यक्ष हुन्।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार भएका कोइराला पार्टीले नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेपछि उम्मेदवारी फिर्ता लिन बाध्य भएका थिए।
उम्मेदवारी दर्ता गरेर भोट माग्नमा व्यस्त रहँदा पार्टी सभापति शेरबहादुर देउवाले चितवन जिल्ला निर्वाचन कार्यालयलाई पत्र लेखेर कोइरालाको उम्मेदवारी फिर्ता लिएका थिए। पछि उनी प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बनेर पराजित भए।
खुला महिलामा ९ जनामा ३१ को उम्मेदवारी परेकोमा चितवनकी सावित्री बोगटी पाठक पनि उम्मेदवार छन्। पाठक पूर्वसांसद हुन्।
दलित महिला केन्द्रीय सदस्यमा ४ का लागि १३ जनाको उम्मेदवारी परेकोमा चितवनका विष्णुमाया परियार र शान्ति परियार (विक) पनि छन्।
विष्णुमाया विक संविधान सभामा समानुपातिकतर्फबाट सभासद बनेकी थिइन्।
शान्ति परियार दलित संघ चितवनको अध्यक्ष हुन्। उनी संस्थापन समूहको प्यानलमा पनि परेकी छन्।
आदिवासी जनजाति खुलामा ८ जनाका लागि ५४ जनाको उम्मेदवारी परेकोमा चितवनका चार जना छन्।
उमेश श्रेष्ठ, जीतनारायण श्रेष्ठ, टेकप्रसाद गुरुङ र भरत गुरूङले आदिवासी जनजाति खुलाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।
भोजपुर घर भए पनि उनी चितवनबाट संविधान सभाको सदस्य बनेका थिए। शिक्षा व्यवसायी उमेश श्रेष्ठ प्रतिनिधि सभामा समानुपातिक कोटाबाट सांसद बन्दै वर्तमान सरकारमा राज्यमन्त्री भएका छन्।
सभापति शेरबहादुर देउवाका निकट मानिने उनी संस्थापन समूहको प्यानलमा पनि परेका छन्।
जीतनारायण श्रेष्ठ नेपाली कांग्रेस चितवनका सभापति हुन्। टेकप्रसाद गुरूङ कांग्रेस चितवनका पूर्वसभापति हुन्। उनी यसअघि पनि केन्द्रीय सदस्यको उम्मेदवार बनेर पराजित भएका थिए।
युवा नेता भरत गुरूङ विद्यार्थी राजनीतिबाट केन्द्रमा पनि चर्चा बटुलेका युवा नेता हुन्। उनी २०४८ सालमा नेविसंघ अमृत साइन्स क्याम्पसको सभापति भएका थिए। उनले नेपाल तरूण दलको विदेश विभाग प्रमुख भएर पनि काम गरेका थिए।
आदिवासी जनजाति महिलातर्फ ७ का लागि ३५ जनाको उम्मेदवारी परेकोमा चितवनका अन्जनी श्रेष्ठ र गीताकुमारी गुरूङ पनि छन्।
श्रेष्ठ बागमती प्रदेश सभा सदस्य हुन्। गुरूङ इचछाकमना गाउँपालिकाको अध्यक्ष हुन्।
खस आर्य खुलातर्फ ७ का लागि ४९ जनाको उम्मेदवारी परेकोमा चितवनका रामकृष्ण घिमिरे र प्रकाश अधिकारी पनि छन्।
घिमिरे नेपाली कांग्रेस चितवनका पूर्वसभापति हुन्। उनी दोस्रो संविधान सभाको उपनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नबर ४ बाट निर्वाचित भएका थिए।
पार्टीका तत्कालीन केन्द्रीय सभापति सुशील कोइराला दुई क्षेत्रबाट निर्वाचित भएपछि चितवनमा भएको उप-निर्वाचनमा घिमिरे विजयी भएका थिए। अधिकारी प्राध्यापक हुन्। अधिकारी नेपाल विद्यार्थी संघ चितवनको पहिलो निर्वाचित अध्यक्ष हुन्।
उनी चितवन कांग्रेसको सभापति र प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बनेका थिए तर पराजित भए।
यसपटक केन्द्रीय सदस्य पदमा उनी संस्थापन समूहको प्यानलमा परेका छन्।
खस आर्य महिलामा ६ जनाका लागि ३४ जनाको उम्मेवदारी परेकोमा चितवनका ३ जना छन्। पार्वती शाह, विनु रायमाझी पौडेल र गीता देवकोटाले गीता देवकोटाले खस आर्यतर्फबाट उम्मेदवारी दिएका छन्।
शाह भरतपुर महानगरपालिकाकी उपमेयर हुन्। पौडेल तरूण दल चितवनका पूर्वअध्यक्ष स्वर्गीय शिवप्रसाद पौडेलकी श्रीमती हुन्।
पौडेलको भरतपुर कारागारमा रहेको समयमा हत्या भएको थियो। देवकोटा पूर्वी चितवनबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन्।
केन्द्रीय सदस्य थारु खुलामा २ का लागि १० जनाको उम्मेदवारी परेकोमा चितवनका साजनकुमार महतो पनि छन्। उनी बागमती प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बनेका थिए। त्यसअघि उनी कांग्रेस चितवनको प्रवक्ता पनि भएका थिए।
चितवनमा नेपाली कांग्रेसको जनाधार राम्रो भएर पनि पार्टीको केन्द्रीय समितिमा लामो समयदेखि यहाँको प्रतिनिधित्व हुन सकेको छैन। केन्द्रीय सदस्य पदमा उम्मेदवारी पर्ने गरेपनि कसैले पनि जित्न सकेका छैनन्।
केन्द्रीय सदस्यको उम्मेदवार दिनेश कोइरालाले यसपटक चितवन रित्तो हात नफर्कने बताए।
‘व्यक्तिगतरूपमा ममाथि पार्टीको केन्द्रीय नेतृत्वबाटै अन्याय भएको छ। उम्मेदवारी दर्ता भइसकेपछि पनि फिर्ता गराएर नेतृत्वले ममाथि अन्याय गरेको कुरा कार्यकर्ताले राम्ररी बुझेका छन्। यो पटक केन्द्रीय सदस्यमा जिताएर महाधिवेशन प्रतिनिधिहरूले ममाथि न्याय गर्नुहुन्छ भन्ने आशा छ,’ कोइरालाले भने, ‘मैले करिब २ हजार जना प्रतिनिधिलाई भेटिसकें उहाँहरूले मेरो विषयमा सकारात्मक सोच्नुभएको पाएको छु। भेटघाटको क्रम चलिरहेकै छ।’
यद्यपि पछिल्लो समयमा चितवन कांग्रेसभित्र देखिएको अन्तर्विरोधका कारण यहाँबाट प्रतिनिधित्व गरेका उम्मेदवारहरूले जिल्लाकै महाधिवेशन प्रतिनिधि सबैको मत पाउने सम्भावना देखिँदैन।
चितवनमा संस्थापनइतर समूहका महाधिवेशन प्रतिनिधि बढी रहेको देखिए पनि जिल्लाभित्र पौडेल समूहको पनि धेरै गुटको प्रभाव छ।
अन्तिम समयमा जिल्ला अधिवेशन स्थगन गरेको भन्दै एउटा ठूलो समूह जिल्ला सभापति जीतनारायण श्रेष्ठसँग रूष्ट छ।
केन्द्रीय सदस्यको उम्मेदवारसमेत रहेका श्रेष्ठ प्रकाशमान सिंहको निकट मानिन्छन्।