गत वर्ष साउनमा राष्ट्रिय प्रजातन्त्र पार्टी त्यागेर नेपाली कांग्रेसमा प्रवेश गरेपछि पूर्वमन्त्री सुनिल थापालाई कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको सहमहामन्त्री बनाए।
विधानमा तोकिएभन्दा बढी सहमहामन्त्री बनाउन देउवाले राजनीतिक निर्णय गरेका थिए।
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरासमेत रहेका सुनिल थापा आफ्नो समूह नै ल्याएर कांग्रेसमा आएका थिए।
कांग्रेस क्रियाशील सदस्यता वितरणका बेला उनले आफूलाई ९ हजार क्रियाशील सदस्य दिनु पर्ने माग गरेका थिए। उनको समूहबाट आएका ७ हजार जनाले कांग्रेस क्रियाशील पाएका थिए।
खाइपाइ आएको पद त के छाड्नु र भन्दै थापाले कांग्रेसको १४ औं महाधिवेशनमा सहमहामन्त्रीको उम्मेदवार बन्न लबिङ गरेका थिए।
सभापति देउवाको प्यानलबाट सहमहामन्त्री नपाउने भएपछि उनी केन्द्रीय सदस्यमै उम्मेदवार बन्न राजी भएका हुन्।
‘यसपालि सहमहामन्त्री मिलेन, त्यही भएर केन्द्रीय सदस्यमै उम्मेदवारी दिएको छु,’ थापाले सेतोपाटीसँग भने।
देउवा प्यानलका ३५ जना खुला केन्द्रीय सदस्यमा थापाको नाम छैठौं नम्बरमा छ।