संस्थापन पक्षमा नेता कृष्णप्रसाद सिटौलाको औपचारिक प्रवेश भएपछि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले त्यहाँबाट विद्रोह गर्ने भएका छन्।
१३ औं महाधिवेशनदेखि नै सभापति शेरबहादुर देउवा पक्षमा रहेका प्रवक्ता शर्माले १४ औं महाधिवेशनमा पार्टी महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। तर, संस्थापन पक्षले सिटौलालाई टिममा राख्न प्रदीप पौडेललाई महामन्त्री बनाउने निश्चय गरेपछि शर्माले देउवा समूह त्याग्ने निश्चित भएको हो।
नेपाल विद्यार्थी संघका पूर्वसभापति शर्मा कांग्रेस प्रवक्ताका रुपमा कार्यरत छन्। युवा पुस्तामाझ लोकप्रिय शर्मालाई संस्थापन पक्षबाटै महामन्त्री उम्मेदवार बनाउने आशामा देशव्यापी अभियानमा उनी लागेका थिए। तर, अन्तिम समयमा सिटौला समूह संस्थापनमै मिसिएर शर्माको ठाउँमा प्रदीप पौडेल अघि आएपछि शर्माले देउवा समूह छाड्ने टुंगो गरेका हुन्।
‘सिटौलाले महामन्त्रीमा शर्मालाई रोक्न जोडतोडले भूमिका निर्वाह सुरू गरिसकेका थिए,’ शर्मानिकट कांग्रेस एक केन्द्रीय सदस्यले भने, ‘त्यसमा देउवा पनि सहमत देखिएको छ। अब उहाँले समूहबाट विद्रोह गर्ने निश्चित भएको छ।’
शर्माले देउवा समूहमा विद्रोह गरेर शेखर कोइराला वा प्रकाशमान सिंहको प्यानलमध्ये कता साथ दिने टुंगो भइनसकेको ती नेताले बताए। उनका अनुसार दुबै पक्षबाट शर्मालाई प्रस्ताव आएको छ तर टुंगो लगाउन छलफल जारी छ।
यसबारे प्रवक्ता शर्माले विस्तृत बोल्न मानेनन्। ‘हामी छलफलमा छौं,’ उनले भने, ‘अब केहीबेरमा निर्णयमा पुग्नेछौं।’
प्रवक्ता शर्मा अहिले झापासहितका विभिन्न जिल्लाका आफू पक्षीय महाधिवेशन प्रतिनिधिहरूसँगको छलफलमा छन्। छलफलको निष्कर्ष आएपछि टुंगोमा पुग्ने शर्मा समूहका नेताहरूले बताएका छन्।
प्रदेश १ का अधिकांश नेताहरू भने संस्थापनइतर समूहबाट विश्वप्रकाश र गगन थापालाई एकै टिमबाट महामन्त्रीको उम्मेदवार बनाउने लबिङमा छन्।
‘यसबारे तयारी व्यापक भइरहेको छ,’ मोरङ कांग्रेसका एक नेताले भने, ‘गगन र विश्वप्रकाशलाई महामन्त्री बनाएर शेखर कोइरालालाई अघि बढ्न दबाब उच्च छ। उहाँ पनि सकारात्मक हुनुहुन्छ।’