नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा बोल्ने क्रममा शुक्रबार पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी नेतृत्वमा युवाको आवश्यकताबारे मात्रै बोलेनन्, प्रदीप पौडेलको नामै लिएर उनलाई अघि बढाउन चाहेको प्रष्ट बताए।
नेपाल विद्यार्थी संघका पूर्वसभापति पौडेललाई अघि सारिरहँदा सिटौलाले कांग्रेसकै दुई चर्चित नेताहरू गगन थापा र विश्वप्रकाश शर्मालाई महामन्त्रीमा ‘देखाउने’ नीति लिएका छन्। सिटौलानिकट नेताहरूले महाधिवेशनस्थलमा यो अभियानलाई तीव्र पारेका छन्।
महाधिवेशनस्थलमा रहेका झापाका एक नेताले दिएको जानकारी अनुसार नेता सिटौलाले पार्टी सभापति देउवासँग मिलेर जाने सर्तका रुपमा पौडेललाई महामन्त्री दिनुपर्ने प्रस्ताव राखेका छन्।
त्यसै त देउवा समूहमा महामन्त्रीका आधा दर्जन आकाक्षी छन्, पौडेललाई पनि देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बनाउने हो भने शर्मालाई देउवाको टिमबाट महामन्त्रीमा पर्न झनै कठिन हुन्छ। सिटौला भने जसरी पनि पौडेललाई महामन्त्रीमा उठाउनेमा लागेका छन्।
कांग्रेसमा ‘तेस्रो धार’को नेतृत्व गरिरहेका सिटौला सभापति शेरबहादुर देउवा पक्षमा उभिने लगभग निश्चित भइसकेको छ। पौडेलको विषय अन्तिम रूपमा टुंगिन मात्र बाँकी रहेको छ।
पौडेललाई अघि सारेर सिटौलाले एकैपटक दुईटा लक्ष्य राखेको सिटौलानिकट नेताहरू बताउँछन्। आफ्नो साथमा कहिल्यै नरहेका शर्मालाई ‘रोक्ने’ र आफ्नो साथ छाडेका अर्का युवा नेता गगन थापालाई देखाउने नीति अनुसार सिटौला अघि बढेका छन्।
‘प्रदीपजीलाई अघि सार्दा युवालाई अघि बढाएको पनि देखियो,’ ती नेता भन्छन्, ‘गगन र विश्वप्रकाशलाई देखाउन पनि सकियो।’
‘विश्वजीले पटक-पटक कृष्ण दाइको अपमान गरेको महसुस भएको छ, झापादेखि काठमाडौंसम्म त्यो अनुभव हामीलाई भएको छ,’ सिटौलानिकट झापा कांग्रेसका एक नेताले सेतोपाटीसँग भने, ‘गगनजीले पनि महत्वपूर्ण समयमा आएर उहाँलाई धोका दिएको हुनाले उहाँहरूप्रति सकारात्मक हुन जरुरी छ र?’
१४ औं महाधिवेशनको तयारी चल्दै गर्दा थापाले सिटौलाको साथ छाडेका थिए। संस्थापनइतर समूहबाट महामन्त्रीमा लड्ने घोषणा थापाले गरेपछि सिटौला उनीसँग क्रुद्ध बनेका थिए। ‘गगनलाई अन्तिम समयसम्म आफूसँग रहन उहाँले आग्रह गर्नु भए पनि नमानेर उहाँ अर्कोतिर जानुभएको हो, यस्तोमा सहयोग गर्नुपर्ने आवश्यकता हुँदैन,’ ती नेताले भने, ‘शर्मालाई सघाउने कुनै आधार कृष्ण दाइसित छैन। त्यसैले, यस्तो रणनीति तय भयो भन्ने कुरा आश्चर्य होइन।’
आफ्नो आग्रह लत्याएर अर्को समूहमा गएका कारण पनि सिटौला गगनलाई ‘देखाइदिने’ मुडमा छन्। यसबारे आफूहरू जानकार रहेको शर्मानिकट नेताहरू बताउँछन्। ‘सिटौला गगन र विश्वप्रकाश रोक्न लागेको प्रष्ट सूचना आइसकेको छ,’ शर्मानिकट एक नेताले भने, ‘हामीले पनि त्यसलाई चिर्ने प्रयास गर्नेछौं।’
ती नेताका अनुसार प्रवक्ता शर्मा महामन्त्रीको उम्मेद्वारीबाट ‘ब्याक’ हुने अवस्थामा छैनन्। देउवा समूहमा सिटौला सफल हुन नसक्ने आँकलन उनले सुनाए।
सिटौलाले जसरी पनि महामन्त्रीको एउटा सिटमा आफ्नो उम्मेद्वार हुने दाबी निकट नेताहरूसँग गरेका छन्। महाधिवेशनको चटारोमा व्यस्त रहेका कांग्रेस नेताहरूका अनुसार सिटौलाले आफू देउवासँग उभिने र त्यसका लागि आफ्नो समूहलाई महामन्त्री चाहिएको खुला रूपमा बताएका छन्। चेपुवामा परेका देउवाले भने अन्तिम निर्णय दिइसकेका छैनन्।