नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले संस्थापनइतरबाट सभापतिको साझा उम्मेदवार बनाएरै छाड्ने दाबी गरेका छन्।
बिहीबार बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेता रिजालले संस्थापनइतर समूहबाट सभापति पदका लागि साझा उम्मेदवार बनाएरै छाड्ने बताएका हुन्।
‘हिजोको चाक्सीबारीको तिक्ततापछि झनै साझा उम्मेदवार बनाउनुपर्छ भन्ने भएको छ। हामी हाम्रो समूहबाट साझा उम्मेदवार बनाएरै छाड्छौं, रिजालले भने।’
शेरबहादुर देउवाको विकल्प आवश्यक रहेको भन्दै उनले यसका लागि आफूहरू क्रियाशील रहेको जिकिर गरे।
कांग्रेस प्रतिस्पर्धाको पार्टी रहेकाले प्रतिस्पर्धामार्फत नै नेतृत्व चयन हुने उनको भनाइ छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले सर्वसम्मत सभापति चयन गर्न ‘त्याग’ गरिसक्दा पनि को सभापति हुने भन्ने निर्णयमा पुग्न यो समूहलाई सकस परेको छ।
महाधिवेशन उद्घाटनको संघारमा आइसक्दा पनि सभापतिको उम्मेदवार तय हुन सकेको छैन।
सभापतिमा आकांक्षी रामचन्द्र, शशांक, प्रकाशमान सिंह र शेखर कोइराला हुन्। रामचन्द्र र शशांकले सहमतिमै सभापति छान्न आफूहरूले छाड्ने बताइसक्दा पनि सहमति हुन सकेको छैन।
सभापति पदका चार आकांक्षीबाट दुईमा झरे पनि बुधबार बिहानदेखि बेलुकीसम्म पटकपटक भिन्नभिन्न ठाउँमा भएका बैठकले कुनै निचोड निकालेको छैन।
बरू अब युवा नेताहरूले हस्तक्षेप गर्ने तयारी गरेका छन्। मुख्यगरी प्रकाशमान सिंह र शेखर कोइरालामा अहिले कुरा अड्किएको छ- कसले कसलाई सभापति छाड्ने भन्नेमा।
सिंह यसपालि जसरी पनि सभापति उठ्न चाहेका छन्। उनले सिंहदरबारअगाडि यलम्बर पार्टी प्यालेस नै भाडामा लिएर सम्पर्क कार्यालय खोलेर भेटघाटलाई तीव्रता दिइरहेका छन्।
शेखर १३ औं महाधिवेशन सकिएलगत्तैदेखि नै जिल्लाहरू घुमेर १४ औं महाधिवेशनमा सभापति पदमा उठ्न तयारी गरिरहेका थिए।
प्रकाशमान र शेखरबीच एकअर्कालाई छाड्ने विषयमा टसमस नहुँदा बिहीबार साँझ सिंह निवास चाक्सीबारीमा चर्काचर्कीसमेत भयो।
सिंहले जहिले पनि आफूहरूले नै त्याग गरिराख्नुपर्ने हो भनेर नेताहरूलाई प्रश्न तेर्साउने गरेका छन्। शेखर पनि आफू यसपालि सभापति उठ्ने बताइरहेका छन्।
उनीहरूलाई एक ठाउँमा उभ्याउन पौडेल र शशांकलगायत नेताले कोशिस गरिरहेको देखिन्छ तर अहिले नै सहमति जुट्ने अवस्था देखिएको छैन।
सर्वसम्मत सभापति छान्न पौडेल पक्षले आफूनिकट केन्द्रीय सदस्य, प्रदेशमा जितेका सभापति र उम्मेदवार, जिल्ला सभापति, निवर्तमान जिल्ला सभापति र केही महाधिवेशन प्रतिनिधिहरूसँग पनि राय लिएको हो, तर उपाय लागेन।
जिल्ला सभापतिहरू त विवादमा आउन चाहेनन्। बत्तिसपुतलीमा बिहीबार बिहान भएको भेलामा उनीहरूले सभापतिको नाम भन्न चाहेनन् र आफूहरूलाई विवादमा नतान्न शीर्ष नेतालाई आग्रह नै गरेका थिए। ‘बरू उनीहरूले तपाईंहरू नै निर्णय गर्नुस् हामी स्वीकार्छौं पो भने,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने।
सभापतिमा चार आकांक्षीमध्ये को बलियो भन्नेमा भोटिङ गर्ने चर्चा पनि भएको थियो। तर उक्त बैठकमा शेखर कोइराला पक्षका धेरै मानिस रहेको ठानेर त्यो विकल्पमा नेताहरू गएनन्।
‘पौडेल समूहलाई एक ढिक्का राख्ने भनेर सर्वसम्मत सभापति उम्मेदवार खोज्ने भनिएको हो। भोटिङ गरेर एक नेता छान्ने हो भने त झन् यहीँभित्र चार गुट बन्ने सम्भावना देखिन्छ,’ एक केन्द्रीय सदस्य भन्छन्, ‘यो विधि जिल्ला सभापतिहरूले मानेनन्। विग्रह हुन्छ, सन्देश राम्रो जाँदैन भने।’
सभापतिमा आफू नै बलियो रहेको सभापतिका आकांक्षीहरूको आ-आफ्ना दाबी छन्। पौडेलले एक कार्यकाल आफैँलाई समर्थन गरिदिन आग्रह गरिरहेका थिए तर नेताहरूले नमानेपछि उनले सहमति हुन्छ भने म छाड्छु भनिरहेका छन्।
‘पौडेललाई यो समूह नै छिन्नभिन्न हुन्छ कि भन्ने चिन्ता छ। त्यसैले उहाँ आफू नउठेर पनि सर्वसम्मत उम्मेदवार छान्न प्रयासरत हुनुहुन्छ,’ उनीनिकट एक नेताले भने, ‘यो समूहबाट एकभन्दा बढी उम्मेदवार हुनेवित्तिकै देउवालाई सर्लक्कै सभापति सुम्पिदिए हुन्छ।’
वरिष्ठ नेता पौडेलले प्रकाशमान र शेखरलाई मनाउने प्रयास गरिरहेका छन्। उनीहरूबीच बैठकमा कहिले हाँसो ठट्टा पनि हुन्छ त कहिले चर्काचर्की पनि! प्रकाशमान र शेखर एकअर्कालाई छाड्न नमानेपछि बिहीबार साँझ पौडेलले ‘आफूलाई राजनीतिबाटै बिदा दिन’ आग्रह समेत गरेका थिए।
थप हेर्नुहोस्-